काठमाडौँ — नेकपा (एमाले) ले भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएका मानिसहरूको तत्काल खोजी तथा उद्धार, जोखिममा रहेकाहरूको स्थानान्तरण र घाइतेहरूको निःशुल्क एवं प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको सचिवालयको आकस्मिक बैठकपछि जारी विज्ञप्तिमा मानवीय तथा भौतिक क्षतिको यकिन विवरण सङ्कलन गरी सम्पूर्ण विपद् व्यवस्थापन संयन्त्र, साधन र स्रोत अविलम्ब परिचालन गर्न आग्रह गरिएको छ। साथै, प्रभावित नागरिकका लागि तत्कालीन र दीर्घकालीन राहतको प्याकेज तुरून्त घोषणा गर्न सरकारसँग माग गरिएको छ।
विज्ञप्तिमा उल्लिखित मुख्य विषयहरू:
- एकीकृत सहकार्यको आह्वान: बाढीपहिरोजस्तो कठिन परिस्थितिमा सङ्घ, प्रदेश र स्थानीय सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज र आम नागरिकको एकीकृत समन्वय र सहकार्य अपरिहार्य रहेको औँल्याइएको छ।
- कार्यकर्तालाई निर्देशन: एमालेले आफ्ना नेता, कार्यकर्ता, जनसङ्गठनका सदस्य तथा जनप्रतिनिधिहरूलाई प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यमा अग्रपङ्क्तिमा खटिन र स्थानीय प्रशासनसँग आवश्यक समन्वय गर्न विशेष निर्देशन दिएको छ।
- सरकारलाई सचेत: सरकारले कुनै पनि बहानामा अलमल नगरी उद्धार कार्यमा तदारुकता देखाउन र विलम्ब नगरी प्रभावित क्षेत्रमा राहत सामाग्री पुर्याउनुपर्नेमा जोड दिइएको छ।















