काठमाडौँ — बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउनका लागि एसएमएस मार्फत अनुरोध गरिएको छ।
नेपाल टेलिकमले सो क्षेत्रका सेवाग्राहीलाई दुई दिनका लागि भ्वाइस कल निःशुल्क, प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस निःशुल्क उपलब्ध गराउने भएको छ। साथै, कम्पनीले यस सम्बन्धी सचेतनामूलक रिङब्याक टोन (CRBT) समेत बजाउन थालेको छ।
भीषण बाढीका कारण रसुवामा २ वटा र नुवाकोटमा ५ वटा गरी कुल ७ वटा टेलिकम टावरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। यसका साथै गल्छीदेखि रसुवा बोर्डर (रसुवागढी) सम्मको अप्टिकल फाइबर लिंकमा समेत क्षति पुगेको छ।
अवरुद्ध सेवा यथाशीघ्र सुचारु गर्न र आवश्यक मर्मत सम्भारका लागि नेपाल टेलिकमको प्राविधिक टोली निरन्तर खटिएको कम्पनीले जनाएको छ।














