काठमाडौँ — साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ। झमझम पानी परिरहे तापनि छाता ओढेर शिवभक्तहरू उत्साहका साथ लामबद्ध भई मन्दिर प्रवेश गरिरहेका छन्।
दर्शनार्थीको सहजताका लागि बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले जानकारी दिएका छन्।
विभिन्न मार्गबाट भक्तजनको ताँती
पशुपतितर्फ जाने मुख्य तथा सहायक मार्गहरूमा भक्तजनको बाक्लो उपस्थिति रहेको छ। गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, वाग्मती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर र पिङ्गलास्थान क्षेत्रबाट पशुपतितर्फ जाने क्रम जारी छ। गौरीनगर क्षेत्रसम्म दर्शनार्थीको लामो लाम लागेको छ।
यसैगरी, बिहानैदेखि सुन्दरीजलबाट बोलबमको जल ल्याएर पशुपतिनाथमा चढाउने श्रद्धालुहरूको पनि छुट्टै लाम देखिएको छ।
सुरक्षा र व्यवस्थापन चुस्त
साउनको अन्तिम सोमबारका अवसरमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित र व्यवस्थित दर्शन तथा विशेष पूजाको प्रबन्ध मिलाइएको छ।
दर्शन व्यवस्थापनलाई प्रभावकारी बनाउन कोषका पदाधिकारी तथा कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक एवं सामाजिक सङ्घ–संस्थाहरू खटिएका छन्।













