काठमाडौँ / नेपाल टेलिकमले ‘मनसुन अफर २०८३’ सार्वजनिक गर्दै पोस्टपेड र प्रिपेड मोबाइल सेवाका ग्राहकका लागि थप सुविधासहितका नयाँ प्याकेज सञ्चालनमा ल्याएको छ। कम्पनीले केही नयाँ प्याकेज थप्नुका साथै यसअघि सञ्चालनमा रहेका लोकप्रिय प्याकेजलाई पनि निरन्तरता दिएको जनाएको छ।
टेलिकमका अनुसार पोस्टपेड ग्राहकका लागि ‘पोस्टपेड ३७३’ र ‘पोस्टपेड ४९९’ प्याक उपलब्ध गराइएको छ। ३७३ रुपैयाँको ३० दिने प्याकमा ६ जीबी डाटा, ४०० मिनेट अल–नेट भ्वाइस कल र ५० वटा अल–नेट एसएमएस उपलब्ध हुनेछ। त्यसैगरी ४९९ रुपैयाँको प्याकमा १० जीबी डाटा, ५०० मिनेट अल–नेट भ्वाइस कल तथा १०० वटा अल–नेट एसएमएस समावेश गरिएको छ।
लोकप्रिय ‘सजिलो अनलिमिटेड’ पोस्टपेड प्याकलाई पनि थप सुविधायुक्त बनाइएको छ। ६९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, दैनिक २ जीबीका दरले मासिक ६० जीबी डाटा र २०० एसएमएस उपलब्ध हुनेछ। ७९९ रुपैयाँको प्याकमा दैनिक १० जीबीका दरले ३०० जीबी डाटा, ९९९ रुपैयाँको प्याकमा दैनिक १५ जीबीका दरले ४५० जीबी डाटा, १,४९९ रुपैयाँको प्याकमा ५०० जीबी डाटा तथा १,९९९ रुपैयाँको ‘एक्जिक्युटिभ प्याक’ मा अनलिमिटेड डाटा, अनलिमिटेड भ्वाइस र ५०० एसएमएस सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।
प्रिपेड ग्राहकका लागि पनि नयाँ डाटा प्याक थपिएको छ। अब ९९ रुपैयाँमा १ दिनका लागि ८ जीबी डाटा तथा १९९ रुपैयाँमा ७ दिनका लागि २० जीबी डाटा प्रयोग गर्न सकिनेछ। साथै, सजिलो अनलिमिटेड प्रिपेड प्याकलाई पनि थप आकर्षक बनाइएको छ। ९९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, दैनिक १५ जीबीका दरले मासिक ४५० जीबी डाटा र ३०० एसएमएस तथा १,४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, ५०० जीबी डाटा र ३५० एसएमएस सुविधा उपलब्ध हुनेछ।
त्यसैगरी, स्वतः नवीकरण हुने ‘नमस्ते रिकरिङ’ प्याकेजमा नयाँ ६९९ रुपैयाँको प्याक थपिएको छ। कर्पोरेट युजर ग्रुपका लागि पनि नयाँ आकर्षक प्याकेज सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
नेपाल टेलिकमले ‘नमस्ते क्रेडिट (सापटी)’ सेवामा समेत परिमार्जन गरेको छ। साउन १५ गतेदेखि लागू हुने गरी सापटी रकम ३० रुपैयाँ कायम गरिएको छ। उक्त रकमबाट ३० रुपैयाँ वा सोभन्दा कम मूल्यका डाटा, भ्वाइस वा एसएमएस प्याक खरिद गर्न सकिनेछ। यो सुविधा प्रिपेड ग्राहकले मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपमार्फत लिन सक्नेछन्।
कम्पनीका अनुसार भ्वाइस, डाटा, बन्डल्ड, एड–अन, एसएमएस तथा एफटीटीएचलगायत अन्य विभिन्न प्याकेजहरू पनि यथावत् उपलब्ध रहनेछन्।
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार ‘मनसुन अफर २०८३’ साउन १२ गतेदेखि लागू भएको हो। ग्राहकले *1416# डायल गरेर, ‘नेपाल टेलिकम’ एप वा कम्पनीको वेबसाइटमार्फत प्याकेज सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन्।















