काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाग्राहीहरूका लागि ठुलो राहत दिँदै नयाँ प्रिपेड ई-सिम (eSIM) पूर्ण रूपमा अनलाइनबाटै लिन सकिने सुविधा सुरु गरेको छ। यससँगै अब नयाँ सिम लिनका लागि टेलिकमको कार्यालयमा लाइन बस्नुपर्ने र भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ।
कसरी लिने त नयाँ ई-सिम?
प्रविधिमैत्री बन्दै गएको टेलिकमले सिम लिने प्रक्रियालाई अत्यन्तै सरल बनाएको छ। सेवाग्राहीले निम्न चरणहरू पालना गरी सिम प्राप्त गर्न सक्नेछन्:
- वेबसाइट लगइन: सबैभन्दा पहिले esim.ntc.net.np मा जानुहोस्।
- रजिष्ट्रेशन: त्यहाँ रहेको ‘Get New Prepaid eSIM’ मा क्लिक गरी मागिएको विवरण भरेर दर्ता गर्नुहोस्।
- भुक्तानी: आवश्यक विवरण उपलब्ध गराएपछि विभिन्न वालेटहरू (eSewa, Khalti, आदि) वा क्यूआर कोडमार्फत सिमको शुल्क भुक्तानी गर्नुहोस्।
- सक्रियता: भुक्तानी सफल भएपछि तपाईंको स्क्रिनमा एउटा क्यूआर कोड देखा पर्नेछ। उक्त कोडलाई आफ्नो मोबाइलको सेटिङमा गएर स्क्यान गरेपछि ई-सिम तुरुन्तै सक्रिय हुनेछ।
अन्य सुविधाहरू पनि एकै ठाउँमा
- पुरानो सिमलाई ई-सिम बनाउने: यदि तपाईं पहिले नै टेलिकमको फिजिकल सिम चलाइरहनुभएको छ भने त्यसलाई पनि यही पोर्टलबाट ई-सिममा बदल्न सकिन्छ।
- अनलाइन KYC: नयाँ फिजिकल सिमका लागि फारम भर्न, ग्राहक विवरण (KYC) दर्ता गर्न वा अद्यावधिक गर्न पनि यही अनलाइन पोर्टलको प्रयोग गर्न सकिनेछ।















