४ वैशाख, काठमाडौं । जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको मागलाई लिएर चर्किएको नेपाली कांग्रेसको विवाद अन्तत: सर्वोच्च अदालतसम्म पुगेर टुंगिएको छ । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता दिएपछि विवाद अन्त्य भएको हो ।
विशेष महाधिवेशनको मागबाट सुरू भएको आन्तरिक संघर्षले नेतृत्व, वैधानिकता र पार्टी संरचनामै गम्भीर मतभेद ल्याएको थियो ।
गत असोजदेखि नै कांग्रेसभित्र विशेष महाधिवेशनको माग उठ्न थालेको थियो । २ असोजमा नेताहरू र भ्रातृ संस्थाहरूले विशेष महाधिवेशनको आवाज उठाएपछि ७ असोजमा नेताहरू गुरुराज घिमिरे र देवराज चालिसेसहित १०९ जनाले हस्ताक्षर अभियान थालेका थिए ।
परिवर्तित राजनीतिक अवस्था र विषम परिवेशमा कांग्रेस मुकदर्शक भएर बस्न नहुने हस्ताक्षर अभियान चलाउने नेताहरूको भनाइ थियो ।
‘अहिलेको परिस्थिति आउनुमा विगतमा पार्टीले अख्तियार गरेका नीति, निर्णय, कदम, काम कारबाही त जिम्मेवार छैनन् ? भनि नेतृत्वलाई प्रश्न गरिएको छ,’ उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका थिए ।
२८ असोजमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाए । जेनजी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते भएका देउवा ३६ औं दिन केन्द्रीय कार्यसमिति बैठकमै सार्वजनिक भएका थिए ।
२९ असोजमा उक्त हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष पेश गरियो । खड्काले जारी केन्द्रीय कार्यसमिति बैठकमा विशेष महाधिवेशनको माग गर्दै पार्टीसमक्ष बुझाइएको हस्ताक्षरबारे ‘ब्रिफिङ’ गरे ।














