काठमाडौं, चैत १५, धावक रामसुन्दर कार्कीले ललितपुरदेखि भारतको उत्तरप्रदेशस्थित अयोध्या मन्दिरसम्मको आफ्नो दौड यात्रा पूरा गरेका छन् । करिब ४ सय ५० किलोमिटर दूरी ५५ वर्षीय कार्कीले चैत १३ गते रामनवमीका दिन पूरा गरेको जनाएका छन् । एकतर्फी दौड पूरा गरी कार्की आइतबार स्वदेश फर्किएका छन् ।
गोदावरी नगरपालिका वडा १, गोदामचौरस्थित कार्कीटारमा आफैले निर्माण गरेको हनुमान मन्दिरमा २७ फिट अग्लो पिट्टलको गदा निर्माणका लागि सहयोग संकलन गर्ने अभियानलाई निरन्तरता दिन कार्कीले अयोध्यासम्मको दौड यात्रा गरेका हुन् ।
कार्की यसअघि ललितपुरदेखि जनकपुर पाँचपटक, काठमाडौंदेखि दोलखा ३ पटक, काठमाडौं बुटवल १ पटक, काठमाडौंदेखि सिन्धुली ३ पटक र काठमाडौंदेखि उत्तर प्रदेश १ पटक दौडेर पुगेका थिए ।
त्यस्तै उनले काठमाडौंदेखि भारतको पश्चिम बंगाल हुँदै भुटानको सिमाना फुन्छिुलिङसम्म दौडेका थिए । कार्कीका अनुसार २०६४ सालमा १ सय १ दिन लगाएर नेपालको तत्कालीन ७५ जिल्लानै दौडेर पुगेका थिए ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:














