हालको एसईई (एसएलसी) परीक्षा सरहको म्याट्रिकुलेशनको परीक्षा भने कलकत्ता विश्व विद्यालयले लिने गर्दथ्यो । विसं १९३६ देखि कलकत्ता विश्व विद्यालयले म्याट्रिक परीक्षा लिने गरेकोमा १९८० देखि भने पटना विश्व विद्यालयबाट सम्वर्धन प्राप्त गरेको थियो । विसं १९३६ मा कलकत्तामा म्याट्रिक परीक्षा दिन जङ्गबहादुरका भतिजा खड्गशमशेर पहिलो पटक कलकत्ता पुगेका थिए । तर परीक्षा अगाडि लिइने इन्ट्रान्समा नै फेल भए । जसले गर्दा म्याट्रिकुलशन परीक्षा दिन पाएनन् । १९३७ मा म्याट्रिकुलशन परीक्षा दिन चन्द्रशम्शेर कलकत्ता पुगे र उतिर्ण पनि भए । चन्द्रशमशेर राणा परिवार भित्रमा पहिलो म्याट्रिक उतिर्ण गर्नेमा पर्न पुगे । म्याट्रिक उतिर्ण गरेपछि चन्द्रशमशेरले कलकत्ता विश्व विद्यालयमा नै पढाइ सुचारु राखे । १९४० मा बाबु धीरशमशेरको निधनको समाचार सुनेपछि फर्केका चन्द्रशमशेर फेरी पढाइ पुरा गर्न कलकत्ता पुग्न नै पाएनन् ।
त्यो बेला म्याट्रिकुलशनको परीक्षा दिन कलकत्ता तथा पटना जाँदा बिद्यार्थीहरुका लागि सम्पूर्ण व्यवस्था सरकारले नै गरिदिन्थ्यो । जाने आउने तथा बस्ने खाने ब्यबस्था सरकारबाट नै हुने गर्दथ्यो । १९८५ मा म्याट्रिकुलशन वोर्ड (म्याट्रिकुलेशन परीक्षा केन्द्र) को गठन नेपालमा नै भयो । १९९० कार्तिक १६ गते जुद्धशमशेरले एसएलसी परीक्षा बोर्ड (प्रवेशिका परीक्षा) को गठन संगै परीक्षा दिन पटना जानुपर्ने बन्द भयो । परीक्षा नेपालमा नै दिन पाउने भयो । परीक्षाको तैयारी प्रश्नपत्र तथा परीक्षाफलको प्रकाशन भने सबै पटना विश्व विद्यालयले नै गर्दथ्यो । परीक्षाको केही दिन अगाडि पटना विश्वविद्यालयबाट सुपरिटेण्डेण्टहरु आउँथे परीक्षा लिन्थे र उत्तरपुस्तिकाको पोको लिएर पटना फर्कन्थे । नतिजा पटना विश्वविद्यालयले नै प्रकाशित गर्दथ्यो । २००३ सालबाट भने नेपालमा नै परीक्षाको सम्पूर्ण तैयारी तथा नतिजा निकाल्ने काम भयो । यसपछि भने म्याट्रिकुलेशन परीक्षाको नाम पनि प्रवेशिका परीक्षा तथा एसएलसी भन्न थालियो ।
१९९० सालमा परीक्षा वोर्डको गठन पछि नेपालमा नै परीक्षा लिने तैयारी भयो । पुसको अन्तिम साता परीक्षाको तालिका प्रकाशित भयो । परीक्षाका लागि ३४ विद्यार्थीले फारम भरे । जसमा एक मात्रै छात्रा सुवर्ण कुमारी देवी थिइन् । तर परीक्षाको दिन भने उनि सम्मिलित भइनन् । यसरी नेपालमा पहिलो पटक एसएलसीको परीक्षा शुरु त भयो । तर परीक्षा समाप्त नहुँदै अचानक माघ २ गते महाभूकम्प आयो । दरवार हाइस्कुलमा पनि क्षति पुग्यो । दरवार हाइस्कुलको दक्षिण भागका कोठाहरुमा एसएलसी परीक्षा सञ्चालन गरिएका थिए, त्यहा क्षति हुन पुग्यो । यसरी रोकिएको एसएलसी पाँच महिना पछि १९९१ को जेठमा मात्रै सञ्चालन हुन सक्यो ।
दरवार हाइस्कुलमा क्षति पुगेका कारण बाकी परिक्षा भने टुँडिखेलको खुला मैदानमा नै गराइयो । दरवार हाइस्कुलको आफ्नो भवन पूननिर्माण नहुँदा सम्म सम्पूर्ण पढाइ त्रीचन्द्र कलेजमा गराइएको थियो । यसको नतिजा पनि ढिलो गरि प्राप्त भयो । जसमा प्रथम श्रेणीमा कोही पनि उतिर्ण हुन सकेनन् । दोश्रो श्रेणीमा १० जना उतिर्ण भए भने तेश्रो श्रेणीमा ९ जना उतिर्ण भए । यसरी पहिलो एसएलसी परीक्षामा १ अनुपस्थित, १४ अनुतिर्ण र १९ बिद्यार्थी उतिर्ण भएका थिए । यस पहिलो एसएलसीमा भक्तपुरका पुष्पभक्त मल्ल नेपालकै इतिहासमा पहिलो बोर्ड फस्ट हुने सौभाग्य पाएका थिए ।
१९९० सालमा एक छात्राले प्रवेशिका परीक्षाका लागि फारम भरे पनि अनुपस्थित रहेकोमा त्यसपछि १४ वर्षसम्म कुनै पनि छात्रा परीक्षामा सम्मिलित भएनन् । २००४ सालमा बल्ल एकैपटक चार छात्रा साहना प्रधान, साधना प्रधान, अंगुरबाबा जोशी र भुवनसिंहले प्रवेशिका परीक्षा दिएका थिए ।
एसएलसीको परिक्षाको नतिजा २००७ सालदेखिको नतिजा नेपाल राजपत्रमा पनि छापिन थालेको थियो । केही वर्ष राजपत्रमा नतिजा प्रकाशित भए पनि पछि बिद्यार्थीहरुको संख्या अत्यधिक हुन थाले पछि नतिजा गोरखापत्रमा छापिन थाल्यो । यसरी गोरखापत्रमा बोर्डमा आउनेहरुको नामावली आउँदा बिद्यार्थीहरु मात्र होइन अविभावकहरु पनि गर्व गर्न पाउँथे । दोश्रो जनआन्दोलनको सफलता पछि देशले आबश्यक भन्दा अनावश्यक कुराहरुको पनि परिवर्तन ल्यायो ।
परिक्षाको नतिजाको साथ बोर्डमा आउनेहरुको नामावली नराखिने निर्णय भयो । जसअनुसार बि.सं. २०६२ सालको नतिजा २०६३ सालमा प्रकाशित गरिँदा बोर्डको नामावली हटाइयो । यसको दश वर्ष पछि फेरी अर्को परिवर्तन भयो । नतिजा अंकमा र प्रतिशतमा राखिने गरिएकोमा २०७२ सालमा परीक्षा दिएकाहरुको २०७३ सालमा नतिजा प्रकाशित हुँदा प्रतिशतबाट मुल्यांकन हुने पद्दती हटाएर ग्रेड राख्न थालियो । साथै २०७३ सालमा आइपुग्दा एसएलसीको नाम नै परिवर्तन गरेर एसईई राखियो ।
एसएलसी परीक्षाको लामो इतिहासमा २००७ सालमा प्रजातन्त्रको आगमनका कारण दुईपटक परिक्षा लिइयो । दुइ बिद्यार्थीलाई बोर्ड फस्ट घोषणा गरियो । २०३२ साल देखि ३४ सम्म भने नयाँ शिक्षा प्रणालीबाट र पुरानो शिक्षा प्रणालीबाट छुट्टाछुट्टै परिक्षा भएको थियो ।
एसएलसीलाई एसईई गरिँदा र माध्यामिक बिद्यालको अन्तिम परीक्षाका रुपमा कक्षा १२ लाई स्विकार गरिसक्दा पनि एसईई परिक्षा लिने प्रणाली भने उहिलेको एसएलसी जस्तै नै छ । वास्तविकतामा भन्ने हो भने यो केवल सामान्य ८, ९ को परीक्षा झै १० कक्षाको परीक्षा मात्रै हुनुपर्ने हो । साथै विद्यार्थीहरुमा विशेष परिक्षाको रुपमा लिइदा र महत्व भने ८, ९ को सामान्य परिक्षा जस्तै हुँदा मानसिक रुपले भने बिद्यार्थीहरु भने फलामे ढोका नै सम्झन तथा मान्न बाध्य छन् ।
अनावश्यक रुपमा बिद्यार्थी र अविभावकलाई दवाव र नीजि विद्यालयहरुको आर्थिक उपार्जन तथा अनावश्यक विज्ञापन गरिँदै आएको एसएलसी हटाइनु पर्दछ । यसको आबश्यकता र महत्व अहिलेको शिक्षा प्रणालीमा छैन । बिद्यालयको साधारण परिक्षा सरहको १० कक्षा पास भए पछि ११ र १२ पढ्न दिइनु पर्दछ । यहाँ मापदण्डका आबश्यकता राखिनु हुँदैन ।
(यो सामाग्री पोखरामा रहेर पर्यटान व्यवसायी गर्दै आएका सुनिल उलकको फेसबुकबाट साभार गरिएको हो ।)
