काठमाडौं । सरकारले आज वैशाख ६ र ७ गते (शनिबार र आइतबार) देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको छ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइन लागेकाे हाे ।
यस्तै ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिने गरिन्छ । नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ ।
आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो ।