२७ पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष रिक्त भएको एक साता पुग्दासमेत सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु गरेको छैन । तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल २० पुसमा समाप्त भएसँगै बोर्डमा कसैलाई निमित्तको जिम्मेवारी पनि दिइएको छैन । यसले बोर्डको दैनिक कामकारबाही नै प्रभावित बनेको छ ।
धितोपत्र बजारको नियमन गर्ने बोर्डको कार्यकारी भूमिका हुने अध्यक्षको कार्यकाल सकिनु अगाडि नै नयाँ अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाउनुपर्नेमा हालसम्म त्यो पनि सुरु भएको छैन । नयाँ अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषद्ले सिफारिस समिति बनाउनुपर्छ, त्यसका लागि अर्थ मन्त्रालयले समिति गठनको प्रस्ताव पठाउनुपर्छ । तर, मन्त्रालयमा यो प्रक्रिया नै सुरु नभएको हो ।
‘अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि सिफारिस गर्नका लागि राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको एक समिति रहने धितोपत्र सम्बन्धी ऐनमा व्यवस्था छ ।
समितिले अध्यक्षको नाम सिफारिस गर्न आवश्यक कार्यविधि आफैं बनाउनसक्ने व्यवस्था ऐनमा छ । अध्यक्षको नाम सिफारिस गर्दा योग्यता पुगेका तीन जनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ । त्यसका लागि विगतमा सिफारिस समितिले अध्यक्षका लागि आवेदन नै माग्ने गरेको छ । यो प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्मा तीन जनाको सिफारिस गरेपछि त्यसमध्येबाट मन्त्रिपरिषद्ले अध्यक्ष नियुक्त गर्ने प्रावधान छ ।
धितोपत्र सम्बन्धी ऐनले नै धितोपत्र बोर्डको सञ्चालक समिति बैठक महिनामा कम्तीमा १ पटक बस्नुपर्ने र सञ्चालक समिति बैठक अध्यक्षले बोलाउनुपर्ने व्यवस्था गरेको छ । अध्यक्ष नियुक्तिका लागि हालसम्म सिफारिस समिति गठन नभएको र त्यसपछि मात्रै प्रक्रिया बढ्ने अर्थ मन्त्रालयले जनाएकाे छ ।