काठमाडाैं । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ। मंसिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ।
बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ।
प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामेआसपासका क्षेत्रमा रातिकाे तापक्रम माइनस १६ देखि १८ डिग्रीसम्म पुग्नेगरेकाे जनाएका छन् ।
चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माणका काम ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिए। चामे गाउँपालिकाले सूचना जारी गरी विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम नगर्न आग्रह गरेको छ।
चिसोका कारण स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको जनाइएकाे छ । नार्पाभूमिका अत्यावश्यक कामकाजका लागि सदरमुकामस्थित चामे गाउँपालिका–३ कोतोमा अस्थायी कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ।