काठमाडाैं । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षपछिकै उच्च मापन भएको छ ।
बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।
उनका अनुसार आज बिहान चार बजे पानीको बहाव ४ लाख ६२ हजार क्युसेक मापन भएको थियो । यद्यपि यो घट्दो क्रममा छ ।
प्रहरीका अनुसार सप्तकोशीमा १९८९ पछिकै उच्च बाढी रेकर्ड भएको छ । १९८९ मा ४ लाख ७२ हजार क्युसेक मापन भएको थियो । आज बिहान चार बजे ४ लाख ६२ हजार क्युसेक मापन भएकोमा बिहान साढे ७ बजे घटेर ४ लाख ४० हजारमा झरेको छ ।
यद्यपि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।