काठमाडौं । न्यून चापिय रेखा नेपाल आसपास रहेका कारण शनिबारदेखि मनसुन पुन सक्रिय हुने भएको छ ।
मनसुन सक्रिय हुँदा बाढी, पहिरो, डुबान, हवाई तथा स्थल यातायात अवरुद्ध हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरी भोलि शनिबारदेखि नदी तथा खोलाहरुमा जलसतह बढ्ने भन्दै तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद बिनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक छ । यो रेखा अझै उत्तरतिर सरेर नेपालको झन् नजिक आइपुगेको छ । त्यसैको प्रभावले नेपालका धेरै ठाउँमा पानी पर्ने छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति भने कोशी र मधेश प्रदेशमा पनि भारी वर्षाको सम्भावना छ । तर पूरै प्रदेशभर नभई एक–दुई स्थानमा मात्र भारी वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ ।
भोलि (शनिबार) पनि देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ र कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा अति भारी वर्षाको सम्भावना छ । शनिबार राति भने सुदूरपश्चिम प्रदेशमा पनि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ ।
महाशाखाले भोलिदेखि देशका अधिकांश नदीहरुको बहाव उल्लेख्य बढ्ने जनाएको छ । पर्सि बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, भेरी र महाकाली नदी तथा यी नदीका सहायक नदी तथा खोलाहरुको बाढी सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ ।