काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको समयमा सडकमा निस्किन खोजेको भन्दै प्रहरीले डाक्टरलाई लाठीचार्ज गरेको छ ।
राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर शीतल निवास फर्किने क्रममा थिइन् । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले सडक खाली लगाएको थियो । राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह सर्जरी सकेर घर जाने तयारीमा थिए ।
साइकलमा आउजाउ गर्ने उनी अस्पतालबाट बाहिर निस्किए र वीर अस्पताल अगाडि रहेको आकासे पुल मुनि पुगे । प्रहरीले उनलाई ट्रमा सेन्टरकै पार्किङतिर फर्किन भने । नमानेपछि उनीमाथि लाठी बर्साएको छ । टाउकोमा चोट लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
घटनाको विरोधमा चिकित्सकहरु आन्दोलित भएका छन् । घटनामा संलग्न प्रहरीलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।