काठमाडौं । प्रतिनिधि सभा उपसभामुख चयनका लागि आजदेखि प्रक्रिया सुरु हुँदैछ । प्रतिनिधि सभाले बिहीबार मात्रै सभामुख पाएपछि आजदेखि उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो ।
संघीय संसद सचिवालयका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत आज उपसभामुखका लागि मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।
मनोनयन दर्ताको शुक्रबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । उम्मेदवारको नामावली भने शनिबार प्रकाशन गरिनेछ । मतदान आइतबारको प्रतिनिधि सभा बैठकमा हुनेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।
सभामुखमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भइसकेका छन् । उपसभामुखमा आज मनोनयन दर्ता गर्ने दिन भए पनि दलहरूले उम्मेदवारको भने टुंगो लगाइसकेका छैनन् ।
सत्ता गठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ । गठबन्धनले रास्वपाकी सोविता गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने कांग्रेसले पनि उम्मेदवारी दिने तयारी गरेको छ ।