धनगढी, १७ असार । देशभरिकै उत्कृष्ट कलेजभित्र पर्दै धनगढीको सुदूरपश्चिममाञ्चल एकेडेमी (एसपीए कलेज)ले राष्ट्रिय शिक्षा सम्मान प्राप्त गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा शनिबार आयोजित एक समारोहका बीच देशभरिकै कलेजको उपस्थितिमा एसपीए कलेजलाई उक्त सम्मान प्रदान गरिएको हो ।
पूर्व शिक्षामन्त्री अर्जुननरसिंह केसीले एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरेका थिए । फोकस नेपाल नामक संस्थाले देशभरिकै शैक्षिक संस्थाहरुबीच विभिन्न मापदण्डका आधारमा गरेको प्रतिस्पर्धामा एसपीए उत्कृष्ट कलेजभित्र पर्न सफल भएको हो ।
लामो समयदेखि नेपालको शैक्षिक क्षेत्रमा पुर्याएको योगदान, भौतिक पूर्वाधार, दक्ष र अनुभवी प्राध्यापकहरु, समयानुकुल प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा प्रदान गरे नगरेको र विगतको परीक्षाको नतिजालाई प्रमुख आधार बनाएर उक्त अवार्ड प्रदान गरेको हो ।
अवार्ड ग्रहण गर्दै एसपीएका क्याम्पस प्रमुख उपाध्यायले २६ वर्षको लामो शैक्षिक इतिहास बोकेको एसपीए कलेजले यो सम्मान पाउँनु समग्र सुदूरपश्चिमका लागि नै गर्विलो क्षण भएको बताउँनुभयो ।
‘देशभरिकै सयौं कलेजहरुलाई विभिन्न मानकहरुमा पछि पार्दै र अब्बल ठहरिदै एसपीए कलेज उत्कृष्ट कलेजमा पर्न सफल भएको खबर हाम्रा लागि मात्रै नभएर सुदूरपश्चिम क्षेत्रकै लागि गर्विलो क्षण हो,’ उपाध्यायले भने, ‘सम्मानले हामीलाई थप जिम्मेवारी बोध गराएको छ । अन्तर्राष्ट्रियस्तर सुहाँउँदो शिक्षामा कटिबद्ध भएर लाग्न हामी अझै कटिबद्ध भएर लाग्नेछौं ।’
समग्रमा एसपीएले पाँचौपटक उत्कृष्ट उमावि र कलेजको सम्मान पाइसकेको छ । २०६२ र ६३ सालमा एसपीएले उत्कृष्ट प्लस टूको अवार्ड पाएको थियो । यस्तै पछिल्लो दुई वर्ष कलेजले लगातार उत्कृष्ट कलेजको अवार्ड पाउँदै आएको छ । एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले यसैवर्ष देशभरिबाटै उत्कृष्ट प्रिन्सिपल अवार्ड समेत पाएका थिए ।
३५ सय बढी विधार्थी अध्ययनरत एसपीए कलेज विश्वविद्यालय अनुदान आयोगबाट प्रदान गरिने गुणस्तर सुनिश्चितता प्रयायन (क्यूएए) प्राप्तिको अन्तिम चरणमा रहनुले पनि गुणस्तरीय शिक्षामा एसपीएको भूमिका स्पष्ट हुने उपाध्यायले बताए ।