काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिचानवादीले गृहजिल्ला झापामा अवरोध गरेका छन्। झापा हुँदै इलाम जाने क्रममा ओलीलाई बुद्धशान्तिमा पहिचान पक्षधरले अवरोध गरेका हुन्।
उनीहरूले बुद्धशान्तिमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा पुगेर नाराबाजी गरेको जिल्ला प्रहरी कार्यालय झापा प्रहरीले जनाएकाे छ । पहिचान पक्षधरले ओलीलाई कालो झन्डा देखाउनुका साथै उनीहरू प्रहरीमाथि ढुंगामुढा प्रहार भएको हो। बुद्धशान्तिमा भएको झडपका क्रममा प्रहरी निरीक्षक अनिल माबोहाङसहित दुई प्रहरी घाइते भएका छन्। उनीहरूको टाउकोमा चोट लागेको जनाइएकाे छ ।
एमालेको नेतृत्वमा प्रदेशको नाम कोसी राखेपछि पहिचानवादी निरन्तर आन्दोलन गर्दै आएका छन्। उनीहरूले प्रदेशको नाम खारेज गरेर पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने माग राख्दै आएका छन्। पहिचान पक्षधरले एमालेको नेतृत्वमा प्रदेशको नाम कोसी राखिएको निष्कर्ष निकालेका छन्।