भदौ १३ , नेपाली क्रिकेट टोलीले एकदिवसीय विश्वकपका पूर्वविजेताहरू भारत र पाकिस्तानसँग पहिलोपटक प्रतिस्पर्धा गर्दै छ । मंगलबार राति टोली पाकिस्तानतर्फ लागेको छ । एसिया कपमै पहिलो सहभागितामा नेपालले विश्व क्रिकेटकै शक्तिशाली राष्ट्रहरूविरुद्ध खेल्न अवसर पाएको हो ।
नेपाल, भारत र पाकिस्तान समूह ‘ए’मा छन् । दुवै बलिया राष्ट्रविरुद्ध भिड्न नेपाल तयार भएको कप्तान रोहित पौडेलले बताए । पाकिस्तानमा प्रशिक्षण र प्रतिस्पर्धा गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा उनले एसिया कपमा उत्कृष्ट नतिजा निकाल्ने उद्देश्यका साथ प्रशिक्षण भएको जनाए ।
‘धेरै समयपछि हाम्रो सपना पूरा हुँदै छ, सबै खेलाडी भारत र पाकिस्तानसँग खेल्न पूर्ण रूपले तयार छन्,’ बिदाई समारोहमा उनले भने, ‘यद्यपि, नतिजा हातमा नरहे पनि मैदानमा शतप्रतिशत दिने प्रयास हुनेछ ।’ आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटमा दुईपटकको पूर्वविजेता वेस्ट इन्डिज र जिम्बावेसँग खेलेको अनुभव एसिया कपमा काम लाग्ने पौडेलले बताए । ‘हामीले विश्वकप छनोट खेलमा धेरै अनुभव लियौँ, वेस्ट इन्डिज र जिम्बावेजस्ता बलियो राष्ट्रसँग खेल्न मौका पायौँ,’ डेढ महिनाअघि जिम्बावेमा भएको ग्लोबल छनोट अनुभव उनले साटेका छन्, ‘सोही अनुभव एसिया कपमा काम लाग्नेछ ।’
एक महिनाअघि नेपालले एसियन क्रिकेट काउन्सिल ९एसिसी०ले आयोजना गरेको एसिसी इमर्जिङ टिम्स कपमा प्रतिस्पर्धा गरेको थियो । प्रतियोगितामा नेपालले भारत र पाकिस्तानको ‘ए’ टोलीविरुद्ध खेलेको थियो । कप्तान पौडेलले इमर्जिङ टिम्स र ग्लोबल छनोटमा गरेका गल्तीमा खेलाडीले सुधार ल्याएकोे उल्लेख गरेका छन् । ‘विश्वकप छनोट र इमर्जिङ कपबाट हामीले धेरै कुरा सिक्ने अवसर पायौँ, यति वेला खेलाडीले आ–आफ्नो कमजोरीमा सुधार गरेका छन् ।’
उनले प्रशिक्षणका क्रममा उत्कृष्ट नतिजा कसरी दिने पक्षमा केन्द्रित भएको बताए । ‘अहिले हाम्रो ध्यान नै प्रतियोगितामा कसरी उत्कृष्ट दिन सकिन्छ भन्ने हो, सबैजसो यसै पक्षमा केन्द्रित भएका छौँ,’ उनले भने । एकदिवसीय विश्वकप ग्लोबल छनोट र इमर्जिङ टिम्समा नेपाली ब्याट्सम्यान सट बलमा कमजोर देखिएका थिए ।
माथिल्लो क्रमका ब्याट्सम्यानहरू यसै सर्ट बलमा आउट भएका थिए । एसिया कपको तयारी क्रममा सर्ट बलमा पनि अभ्यास गरेको उनको भनाइ छ । ‘सर्ट बलमा हामीले तयारी गरिरहेका छौँ, अरू सटहरू खेल्न प्रयास गर्नेछौँ,’ उनले भने । नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले सर्ट बललाई एक समस्याका रूपमा लिन नहुने आग्रह गरेका छन् । उनले विश्व क्रिकेटमा नाम चलेका ब्याट्सम्यान पनि सर्ट बलमै आउट भएको प्रसंग जोडे ।
‘सर्ट बलमा विश्वकै नाम चलेका खेलाडी आउट हुन्छन्, यसलाई नेपाली टोलीको समस्याका रूपमा नलिन आग्रह गर्छु,’ खेलाडीलाई हौसला दिँदै उनले भने, ‘अहिले यसैमा हामी केन्द्रित छौँ ।’ उनले टेस्ट राष्ट्रका पूर्ण सदस्यलाई हराउन समय लाग्ने जनाए । ‘भारत र पाकिस्तानको क्रिकेटमा ठूलो इतिहास छ, उनीहरूलाई हराउन धेरै समय लाग्छ,’ असम्भव नतिजाको आशा गर्न संकेत गर्दै उनले भने, ‘हामीकहाँ धेरै समस्या छन्, खेलाडीले विगत केही समयदेखि लाइटविना इन्डोर प्राक्टिस गरेका छन् ।’ एसिया कप ३० अगस्टदेखि १७ सेप्टेम्बरसम्म पाकिस्तान र श्रीलंकामा हुँदै छ । समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले १३ भदौमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ ।
सन्दीप नेपाली टोलीसँग नजाने
एसिया कपमा सहभागी हुन खेलाडी पाकिस्तानतर्फ जाँदैगर्दा प्रमुख लेग स्पिनर सन्दीप लामिछाने तत्कालका लागि नजाने भएका छन् । नेपाल क्रिकेट संघ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दले पाकिस्तान जाने टोलीसँगै सन्दीप नजाने बताएका छन् । सन्दीप फिट भए पनि उनी प्रावधिक कारण पाकिस्तान नजाने भएका हुन् । यसअघि उनी फिट भए प्रतियोगितामा सहभागी गराउने चन्दले गरेका थिए । आइतबार र सोमबारको बन्द प्रशिक्षणमा पनि सन्दीपले अभ्यास गरेका थिएनन् । नाबालिग बलात्कारको आरोपमा उनको मुद्दा काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ ।
मोन्टीले दुवै राष्ट्रका राष्ट्रिय गान गाउने
नेपाल र भारतबीचको खेल १८ भदौमा श्रीलंकामा हुनेछ । खेल सुरु हुनुअघि दुवै राष्ट्रका राष्ट्रिय गीत बजाइन्छ । भारतीय मूलका प्रशिक्षक देसाईले नेपाल र भारतका राष्ट्रिय धुनमा गाउने बताएका छन् । ‘प्रतियोगितामा राष्ट्रिय गान बजाइयो भने दुवै देशको राष्ट्रिय गान गाउनेछु,’ उनले भने, ‘खेलबारे प्रश्न गर्दा म पूर्ण रूपमा नेपाली केटाहरूमै समर्पित हुनेछु ।’ उनले भारत र पाकिस्तानसँगको प्रतिस्पर्धामा नेपाली खेलाडीका प्रत्येक क्षणमा रोमाञ्चित हुने जनाए । ‘जो पहिलोपटक भारत र पाकिस्तानसँग खेल्दै छन्, उनीहरूले विकेट लिएको वेला, बाउन्ड्री लगाउँदा वा आउट गर्दा कसरी सेलिब्रेट गर्छन्, हेर्न आतुर छु,’ उनले भने ।
राष्ट्रपति पौडेलबाट बिदाइ
राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जाने खेलाडीलाई शुभकामना दिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार खेलाडीहरूलाई राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने नेपालको सहभागिताले खेलाडीको व्यक्तित्व निर्माण गर्ने बताए । ‘नेपालमा बढ्दो क्रिकेटप्रतिको आकर्षण र यस खेलमा पछिल्लो समय हासिल गरेको प्रगतिले हामी सबैलाई उत्साहित बनाएको छ,’ उनले भने, ‘यसलाई अझ परिणाममुखी बनाउन सरकारले खेलजगत्का लागि स्वदेशमा उपयुक्त अवसर र पूर्वाधार निर्माण गरी प्रशिक्षण तथा प्रतियोगितालाई तिव्रता दिनुपर्दछ भन्ने मलाई लाग्छ ।’ उनले भारत र पाकिस्तानजस्ता राष्ट्रसँग खेल्ने अवसर नेपाली खेलाडीका लागि थप उत्साहको विषय भएको बताए । ‘उत्कृष्ट खेल प्रदर्शन र परिणाम निकाल्न तपाईंहरूको मिहिनेत र परिश्रम आवश्यक छ,’ उनले भने ।
ओलीले भेटेरै खेलाडीलाई शुभकामना दिए
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसिया कपमा खेल्न जाने नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । खेलाडी बसेको होटेलमा ओलीले सोमबार साँझ खेलाडीहरूलाई भेटेरै शुभकामना दिएका हुन् । केही समयअगाडि ओलीले सोसल मिडियामा एसिया कप खेल्ने खेलाडीसँग भेट्ने बताएका थिए ।