१८ पुस, काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले जुनसुकै समयमा इन्टरनेट सेवा रोकिन सक्ने चेतावनी दिएका छन् ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरणले पोल भाडामा मनोमानी गरेको भन्दै इन्टरनेट सेवा रोकिने चेतावनी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै आइएसपानका अध्यक्ष सुधीर पराजुलीले भने, ‘विद्युत प्राधिकरणले मोनोपोली देखाए हामी इन्टरनेट हड्ताल गर्न पनि पछि पर्दैनौं । इन्टरनेट जुनसुकै बेला अवरुद्ध हुन सक्छ । हाम्रो तालाचाबी प्राधिकरणमा बुझाउँछौं ।’
विद्युत प्राधिकरणले काठमाडौं, विराटनगर, इनरूवा, काँकरभिट्टा, गौरीगञ्ज, पोखरा, धरान, खोटाङ, सुर्खेत, कैलाली, बुटवल, टीकापुर, अत्तरिया, भैरहवा, डोटी, ललितपुर, धनकुटा, दुहवीमा इन्टरनेट सेवा प्रदायकहरुको तार काटिएको आइएसपानका अध्यक्ष पराजुलीले दाबी गरे ।
‘प्राधिकरणले कुनै समन्वयन नै नगरी इन्टरनेट फाइबर तार देशैगर काटिएको छ, यसले त प्राधिकरणको दादागरी भयो। हामी यो एकाधिकार कहिलेसम्म सहने ? अब सहन्नौ’ उनेले भनेका छन् ।
प्राधिकरणले भाडाकै निुहँमा पटक पटक इन्टरनेट सेवा प्रदायकहरुको डेटा सेन्टर, अपरेशनल पोइन्ट, इन्टरनेट सेवा प्रवाह गर्ने फाइबर, तार काटिदिएको भन्दै आइस्पानले आक्रोश व्यक्त गरेको छ ।
दुई वटा आयोगको प्रतिवेदनमा प्राधिकरणले आव २०७५–७६, २०७६–७७ को भाडा घटेको दर रेटमा लिनुपर्ने र नयाँ भाडादर सूचना तथा प्रसारण विभाग, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधिहरु बसी निर्क्योल गर्नुपर्ने भनिएपनि प्राधिकरणले आफूखुशी भाडादर कायम राखेको र सेवाप्रदायकलाई यो भाडादर अनुसार नै रकम तिर्न दबाब दिइरहेको संघले जानकारी दिएको छ।