काठमाडौं । कार्तिक १६,न्यायपालिकाको निष्पक्षतामा राजनीति, सरकार र बिचौलियाहरूको प्रभाव रहने गरेको भनी विगत लामो समयदेखि विभिन्न कोणबाट गम्भीर प्रश्नहरू उठ्ने गरेकोमा हाल केही दिनयता विभिन्न सञ्चारमाध्यमहरूले सर्वोच्च अदालतका प्रधानन्यायाधीश लगायत केही न्यायाधीशहरूको साँठगाँठ बिचौलियाहरूसँग रहेको भन्ने समाचारहरू प्रकाशित गरेको र सम्बन्धित न्यायाधीशहरूबाट सोको बारेमा व्यक्त स्पष्टीकरणप्रति ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टीआई नेपाल) को गम्भीर ध्यानाकर्षण भएको छ ।
न्यायालयमा विचाराधीन मुद्दासँग सम्बन्धित कुनै पनि पक्ष वा बिचौलिया वा अन्य प्रभावशाली व्यक्तिहरूसँग भेट्नु वा सम्पर्कमा आउनु संवैधानिक, कानुनी तथा व्यावसायिक रूपमा न्यायाधीशहरूले पालना गर्नुपर्ने नैतिकता र आचारसंहिताको गम्भीर उल्लङ्घन हो भन्ने धारणा यस संस्थाको रहेको छ । उठेका प्रश्नहरू गम्भीर प्रकृतिका भएका र न्यायालयको आमूल सुधार अत्यावश्यक रहेको तथ्य जगजाहेर रहेको सन्दर्भमा आक्षेप लागेका व्यक्तिहरुले दिएका सार्वजनिक स्पष्टीकरणहरूले मात्र उठेका प्रश्नहरूको समाधान दिन सक्ने अवस्था देखिँदैन ।
तसर्थ, न्याय सम्पादन गर्ने जिम्मेवार व्यक्ति अर्थात् न्यायमूर्तिबाट कानुनमा उल्लिखित भन्दा अझ उच्चतम सदाचारको कसीमा खरो उत्रेर देश र जनताको हितमा कार्य गर्नुपर्ने भएकोले समाचारहरुमा इङ्गित गरिएका तथा आफैँले स्पष्टीकरण दिएका न्यायाधीशहरूले उच्चतम सदाचार प्रदर्शन गरी उठेका प्रश्नहरूको समाधान नभएसम्म न्याय सम्पादन कार्यमा संलग्न नहुन उचित देखिन्छ ।
प्रजातान्त्रिक प्रणालीमा कार्यकारी र न्यायालयको स्वतन्त्रता र कार्य प्रभावकारिता हेर्ने र आवश्यक निर्णय गर्ने निकाय संसद् भएकोले यस विषयको गाम्भीर्यता र सार्वजनिक महत्त्वलाई दृष्टिगत गर्दै ढिला नगरी संसदीय समितिमार्फत तथ्यगत अनुसन्धान गरी आवश्यक निर्णय गर्न आह्वान गर्दछौँ । साथै सम्बन्धित न्यायाधीशहरूको सम्पत्तिको छानबिन पनि अनुसन्धानको दायरामा ल्याउन माग गर्दछौँ ।













