काठमाडौँ ।
इष्टर्न हाइड्रोपावर लिमिटेड (ज्वागल-१०, ललितपुर) ले आफ्नो १० औँ वार्षिक साधारण सभा होटल हार्दिकमा शेयरधनीहरुको वाक्लो उपस्थितिमा भब्यरुपमा सम्पन्न भएको छ ।सञ्चालक समितिका अध्यक्ष धनबहादुर श्रेष्ठले पेश गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को प्रतिवेदनअनुसार कम्पनीले ऊर्जा बिक्री, नाफा तथा प्रतिशेयर आम्दानी (EPS) मा उल्लेख्य वृद्धि हासिल गरेको छ।
साधारण सभामा अध्यक्ष श्रेष्ठले कम्पनीका समग्र वित्तीय सूचक, निर्माण तथा सम्भाव्यता अध्ययनका क्रममा रहेका नयाँ आयोजनाहरू, प्राकृतिक विपत्तिका चुनौती र भावी योजनाबारे शेयरधनीहरूलाई विस्तृत जानकारी गराउनुभयो।
कम्पनीले आफ्ना शेयरधनीहरूका लागि १:०.८७१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव साधारण सभामा पेश गरेको छ।
यसअघि नवौँ वार्षिक साधारण सभामा १:१ को अनुपातमा हकप्रद शेयर निष्काशन गरी धादिङमा निर्माणाधीन मेन्चेत खोला जलविद्युत आयोजनामा लगानी गर्ने र भोजपुरस्थित ५ मेगावाटका पिखुवा खोला आयोजनाको सावाँ-ब्याज भुक्तानी गर्ने निर्णय गरिएको थियो। तर, मेन्चेत खोला आयोजना निर्माणमा केही ढिलाइ हुने भएपछि विद्युत नियमन आयोगको स्वीकृतिबमोजिम कम्पनीको ऋण रु. ६२ करोडभन्दा कम रहने गरी १०:०.८७१ को अनुपातमा हकप्रद निष्काशन गर्ने निर्णय भएको हो।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी र नाफामा क्रमिक रूपमा ठूलो सुधार देखिएको छ:
- विद्युत बिक्री आय:
- आ.व. २०८०/८१ मा: रु. ११,२०,११,४४६/-
- आ.व. २०८१/८२ मा: रु. १२,९३,९२,६४९/- (१५.५२% वृद्धि)
- आ.व. २०८२/८३ मा: रु. १४,६९,७३,८०२/- (१३.५९% वृद्धि)
- प्रतिशेयर आम्दानी (EPS):
- आ.व. २०८१/८२ मा रु. २.२१ रहेकोमा आ.व. २०८२/८३ मा बढेर रु. ३.५२ पुगेको छ।
- आम्दानी बढ्नुका प्रमुख कारणहरू: ट्रिपिङको समस्या कम हुनु, मनसुनको अवधि लामो हुनु, मेशिन उपकरणमा समस्या कम आउनु, Price Scalation हुनु र ब्याजदर घट्नु।
- पिखुवा खोला साना जलविद्युत आयोजना (५ मे.वा., भोजपुर): २०७६ जेठ २६ देखि निरन्तर व्यापारिक उत्पादन गर्दै करिब साढे सात वर्षको यात्रा सफल रूपमा पूरा गरेको छ।
- याम्बालिङ खोला जलविद्युत आयोजना (सिन्धुपाल्चोक): २०८३ वैशाख ३० मा IPO बाँडफाँड भई २०८३ असार ८ गतेदेखि दोस्रो बजार (NEPSE) मा शेयर कारोबार सुरु भइसकेको छ।
- मादमे खोला जलविद्युत आयोजना: IPO निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (SEBON) को स्वीकृतिका लागि अन्तिम प्रक्रियामा रहेको छ।
- दरम खोला ‘ए’ (४.०२ मे.वा., बाग्लुङ) र मेन्चेत खोला (८.४७ मे.वा., धादिङ): हाल निर्माणाधीन अवस्थामा रहेका छन्।
- माथिल्लो बुढीगण्डकी (२०१ मे.वा. अर्ध-जलाशययुक्त, गोरखा): सम्भाव्यता अध्ययन सम्पन्न भई EIA (वातावरणीय प्रभाव मूल्यांकन) को अध्ययन प्रक्रियामा छ।
- तिला-१ जलविद्युत आयोजना (४४० मे.वा., कालिकोट): २०८३ असार २ गते वित्तीय व्यवस्थापन (Financial Closure) सम्पन्न भई छिटै निर्माण कार्य प्रारम्भ गरिनेछ।
- शेयर कारोबार: आ.व. २०८२/८३ मा कम्पनीको कुल रु. ३ अर्ब ६९ करोड बराबरको शेयर कारोबार भएको छ। यस अवधिमा प्रतिशेयर न्यूनतम रु. ३१८.३० र अधिकतम रु. ६८५/- मा कारोबार भएको थियो। बुक क्लोज (२०८३/०६/२१) सम्म कम्पनीमा कुल ३६,४७६ जना शेयरधनी रहेका छन्।
- ब्याजदर सम्झौता: बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणमा ८% ब्याजदर ५ वर्षका लागि लक गरिएकोमा २०८३ जेठ मसान्तमा सो अवधि समाप्त भएकाले २०८३ असार १ देखि लागू हुने गरी ७% ब्याजदर कायम गरी पुनः ५ वर्षका लागि लक गर्ने कन्सोर्टियम बैठकबाट निर्णय भएको छ।
यस वर्ष भदौ १० मा भोटेकोशी, असोज ११ मा कालिगण्डकी र २५ गते बुढीगण्डकी नदीमा आएको भीषण बाढीले पुर्याएको जनधनको क्षतिप्रति कम्पनीले गहिरो संवेदना व्यक्त गरेको छ। सो घटनाबाट प्रभावित राहत तथा उद्धारका लागि कम्पनीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५ लाख जम्मा गरिएको जानकारी गराइएको छ।














