ललितपुर महानगरपालिका वडा ६ को आयोजनामा सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
प्रतियोगितामा १७ स्पर्धामा ६ सय १६ खेलाडीको सहभागिता रहने आयोजक वडा ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ललितपुर महानगरपालिकाका २९ वडा मध्ये २१ वडाबाट प्रतिस्पर्धी सहभागी हुने छन् । यो संस्करणमा १ विधा थप गरिएको छ । खुला स्थानिय जनप्रतिनिधि विधा थपिएको हो ।
ललितपुर जिल्ला टेबलटेनिस संघको संयोजनमा हुने प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख २५ हजार रुपैयाँ रहेको प्राविधिक प्रमुख निकेश जोशीले जानकारी दिए । १७ वटै स्पर्धामा नगद पुरस्कार राखिएको छ ।
अध्यक्ष शाक्यले खेलाडीलाई अवसर प्रदान गर्नुका साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउदै सहभागी सबैको ७ दिनको विमा गरिएको बताए ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २९ लाख रुपैयाँ खर्च हुनेछ । अध्यक्ष शाक्यले ललितपुर महानगरपालिका र अन्तर्गतका वडा, वडा भित्रका विभिन्न संघ संस्थालगायतको सहयोगमा बजेट व्यवस्थापन हुने बताए ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व टेबलटेनिस मुख्य प्रशिक्षक राजेन्द्र कपालीले रात्रीकालीन भएकाले यो प्रतियोगिताको छुट्टै महत्व रहेको बताए ।
ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक आशिष अवालेले म्याट ओछ्याएर खेल खेलाउन ६ वटा बोर्ड प्रयोग गर्ने बताए । रात्रीकालीन साताव्यापी प्रतियोगिताका खेलहरु कनिवहालस्थित आयोजक वडाको प्राङ्गणमा खेलाइने छ ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:














