काठमाडौं । न्यु सरस्वती तेक्वान्दो डोजाङको आयोजना तथा काठमाडौं महानगरपालिकाको सहयोगमा चौंथो बागमती प्रदेशस्तरीय काठमाडौं महानगर उपमेयर कप खुला तेक्वान्दो प्रतियोगिता यही मंसिर २५ देखि २७ गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता काठमाडौं महानगरपालिका वडा नं. ११ स्थित त्रिपुरेश्वरको दशरथ रंगशाला कभर्ड हलमा सञ्चालन हुनेछ ।
उमेर समूहका आधारमा खेलाइने यस प्रतियोगितामा केरोगी (फाइट) र पुम्से (कला) गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । केरोगी र पुम्सेका विभिन्न उमेर तथा तौल समूहहरू निम्नानुसार रहेका छन्:
- केरोगी विधा (कुल ४७ तौल समूह): सिनियर अफिसियलतर्फ पुरुष ४ र महिला ४, जुनियर अफिसियलतर्फ पुरुष ८ र महिला ८, विद्यालय स्तरका खेलाडीतर्फ पुरुष ८ र महिला ९ तथा मन्टेश्वरीका बालबालिका (टाइनी टाइगर) तर्फ पुरुष ३ र महिला ३ तौल समूहमा खेल हुनेछ ।
- पुम्से विधा (कुल २० विधा): अफिसियलतर्फ १२ वर्षमुनि, १४ वर्षमुनि र १७ वर्षमुनि (पुरुष तथा महिला) एवं टाइनी टाइगरतर्फ १ विधासहित कुल २० विधामा प्रतिस्पर्धा गराइनेछ ।
प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाबाट करिब ६ सय ५० खेलाडीको सहभागिता रहनेछ। प्रतियोगिता सफल बनाउन ४१ जना रेफ्री, जुरी, प्राविधिक, प्रशिक्षक, स्वयंसेवक तथा आयोजक कमिटीको सक्रिय सहभागिता रहने आयोजकले जनाएको छ ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा मंसिर २६ गते शनिबार प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ भने मंसिर २७ गते आइतबार अपरान्ह ४ बजे समापन समारोह आयोजना गरिनेछ ।
खेलकुदसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रममा रसुवा बाढीबाट प्रभावित ३ जिल्लाका ३ वटा डोजाङलाई तेक्वान्दो खेल सामग्री हस्तान्तरण गरिनेछ । साथै, ‘आइल्याण्ड फर किड्स प्रि-स्कुल’ र ‘आइल्याण्ड स्पोर्ट्स तेक्वान्दो डोजाङ’ को तर्फबाट पीडितहरूका लागि राहत सामग्रीसमेत प्रदान गरिने कार्यक्रम तय भएको छ ।















