काठमाडौं । बुद्धभूमी नेपाल हाइड्रोपावर लिमिटेडको १८ औं वार्षिक साधारण सभा अध्यक्ष पूर्ण लाल श्रेष्ठको सभापतित्वमा शुक्रबार पानीपोखरीस्थित वालनट बिस्ट्रो, दोचा मार्गमा सम्पन्न भएको छ। असोज २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयअनुसार पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यमा सो सभा सम्पन्न भएको हो।
सभाले गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
समारोहका प्रमुख अतिथि पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले बुद्धभूमि नेपाल हाइड्रोपावरले हासिल गरेको प्रगतिप्रति खुसी व्यक्त गर्नुभयो। कम्पनीले ऊर्जा क्षेत्रमा गरेको प्रगति सकारात्मक रहेको उल्लेख गर्दै उहाँले जलविद्युत् क्षेत्रको विकासले देशको समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
“नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना रहेकाले त्यसको सदुपयोग गर्दै ऊर्जा क्षेत्रमा थप लगानी, उत्पादन र विस्तार गर्नुपर्छ,” घिसिङले भन्नुभयो, “स्वदेशमै ऊर्जा उत्पादन बढाएर यस क्षेत्रलाई आर्थिक तथा सामाजिक विकासको बलियो आधार बनाउन आवश्यक छ।” बुद्धभूमि नेपाल हाइड्रोपावरको प्रगतिले निजी क्षेत्रको सहभागितामा पनि ऊर्जा विकास सम्भव छ भन्ने सकारात्मक सन्देश दिएको उहाँको भनाइ थियो।
१ करोड २० लाख नाफा, तर लाभांश वितरण नगर्ने
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्तावसमेत स्वीकृत गरेको छ।
वित्तीय अवस्थामा सुधार आए तापनि कम्पनीले यस वर्ष पनि शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। २०७८ सालमा आईपीओ जारी गरेको कम्पनीले हालसम्म लाभांश वितरण गर्न सकेको छैन।
यद्यपि, कम्पनी घाटाबाट नाफामा फर्कन सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ करोड २५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १ करोड २० लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते एक दिनका लागि बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा कात्तिक ९ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र सभामा सहभागिता जनाएका थिए।














