कार्तिक ९, काठमाडौँ । बिहीबारदेखि शुक्रबार रातिसम्म गण्डकीदेखि कोशी प्रदेशसम्मका विभिन्न जिल्लामा भारी वर्षा हुने सम्भावना बढेको छ। मौसम पूर्वानुमानका विभिन्न मोडेलको विश्लेषणले वर्षाको सम्भावना देखाएकाले किसान तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई सतर्क रहन सुझाव दिइएको छ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. विनोद पोखरेलले सार्वजनिक गरेको मौसम पूर्वानुमान विश्लेषण अनुसार GFS र ECMWF मौसम पूर्वानुमान मोडेलको आकलन नजिकिँदै जाँदा गण्डकीदेखि कोशी प्रदेशसम्म भारी वर्षा हुने सम्भावना बढेको हो।
उनका अनुसार जिल्लाअनुसार वर्षाको सम्भावना र मात्रा फरक हुन सक्छ। वर्षा हुने समय, स्थान र परिमाणमा समेत परिवर्तन हुन सक्ने भएकाले हालको पूर्वानुमानलाई सम्भावित अवस्थाका रूपमा लिनुपर्नेछ।
सम्भावित वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने, नदी तथा खोलामा पानीको बहाव बढ्ने र तटीय क्षेत्रमा डुबान हुन सक्ने जोखिम रहन्छ। हिमाली क्षेत्रमा यात्रा गर्ने तथा पदयात्रामा निस्कनेहरूले मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्नुपर्ने देखिन्छ।
धानबाली भित्र्याउने समय भएकाले किसानले पनि मौसमको पूर्वानुमानलाई ध्यान दिँदै काटेको धान सुरक्षित राख्न र कृषि कार्यको योजना बनाउन आवश्यक छ।
मौसमको अवस्था परिवर्तन हुन सक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले जारी गर्ने आधिकारिक मौसम पूर्वानुमान तथा चेतावनीलाई नियमित रूपमा पछ्याउन आवश्यक छ।














