भदाै २८, सिन्धुली,। सिन्धुली जिल्ला प्रशासन कार्यालयले नजिकिँदै गरेका चाडपर्वहरूलाई लक्षित गरी दुध तथा दुग्धजन्य पदार्थको मनपरी मूल्य वृद्धि नगर्न व्यवसायीहरूलाई कडा चेतावनी दिएको छ।
चाडपर्वको मौका छोपेर केही थोक तथा खुद्रा व्यापारीहरूले आफूखुसी दुध र दुग्धजन्य पदार्थको मूल्य बढाई बिक्री वितरण गरेको तथा उपभोक्ताको हक हित विपरीत काम गरेको भन्दै विभिन्न माध्यम र स्रोतबाट उजुरी परेपछि प्रशासनले यस्तो कदम चालेको हो।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीद्वारा जारी सूचना अनुसार नेपाल सरकार वा सम्बन्धित निकायको आधिकारिक निर्णय बिना कुनै पनि व्यापारिक फर्म, कम्पनी, व्यक्ति वा संस्थाले आफूखुसी दुध तथा दुग्धजन्य पदार्थको मूल्य वृद्धि गर्न पाउने छैनन्।
यदि कसैले आफूखुसी वा अनधिकृत रूपमा मूल्य वृद्धि गरी कालो बजारी गर्ने वा उपभोक्ता हक हित संरक्षण विपरीतका कार्य गरेमा कानून बमोजिम कडा कारबाही गरिने प्रशासनले जनाएको छ। यस्ता गतिविधिमा संलग्न हुनेहरूलाई ‘कालो बजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन’ र अन्य प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइनेछ।
प्रशासनले अनुगमनलाई तीव्र बनाउने जनाउँदै उपभोक्ताहरूलाई पनि कुनै ठाउँमा अनुचित मूल्य वृद्धि वा कालोबजारी भएको पाइएमा तुरुन्त जानकारी गराउन आग्रह गरेको छ।
















