काठमाडौँ । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)को दोस्रो वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, आर्थिक विवरण, लेखापरीक्षण प्रतिवेदन र बोनस सेयर पारित गरेको छ।
सभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २.५ प्रतिशत बोनस सेयर र सो बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि रु. १५ लाख ५७ हजार ३४३ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मत पारित गरेको छ। साथै, सञ्चालक समितिले नियुक्त गरेका स्वतन्त्र सञ्चालकलाई पनि सभाले अनुमोदन गरेको छ।
प्रमुख निर्णयहरू:
- सर्वसाधारणलाई सेयर: कम्पनीको जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याउने व्यवस्था स्वीकृत भएको छ।
- वैदेशिक लगानी र वित्तीय उपकरण: प्रबन्धपत्रमा थप व्यवस्था गर्दै एनडीपीले अब परिवर्तनीय डिबेञ्चर, प्राथमिकता प्राप्त सेयर र विदेशी लगानीकर्ता लक्षित वित्तीय उपकरण जारी गर्न सक्नेछ।
- अन्तर्राष्ट्रिय कोषबाट सहयोग: ग्रिन क्लाइमेट फन्ड र ब्लेन्डेड फाइनान्सजस्ता अन्तर्राष्ट्रिय कोषबाट सहयोग लिन सक्ने बाटो खुलेको छ।
- मर्ज तथा प्राप्ति: कम्पनीको उद्देश्यसँग मेल खाने अन्य कम्पनी गाभ्ने वा किन्ने (मर्ज/एक्विजिशन) अधिकार सञ्चालक समितिलाई दिने निर्णय भएको छ।
गएको आर्थिक वर्ष २०८२/०८३ मा एनडीपीले करपछि ७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने कम्पनीको कुल चुक्ता पुँजी १ अर्ब १८ करोड ३५ लाख रुपैयाँ पुगेको छ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी पुँजी सङ्कलन गरी उत्पादनमूलक क्षेत्र, जलविद्युत्, केबलकार पर्यटन र सूचना प्रविधिजस्ता ठूला पूर्वाधारमा लगानी गर्ने लक्ष्य रहेको बताए। देशका सबै ७७ जिल्लामा सेयरधनी आधार विस्तार भइसकेको जानकारी दिँदै उनले एनडीपीले वैदेशिक रोजगारीमा जाने युवालाई स्वदेशमै लगानी र रोजगारीको अवसर सिर्जना गर्न योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे।















