साउन १८, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दा पनि १५ दिनमै झण्डै डेढ अर्ब रुपियाँ घाटा हुने दाबी गरेको छ ।
निगम सञ्चालक समितिको निर्णयअनुसार सोमबार बिहानदेखि लागू हुने गरी भएको नयाँ मूल्य समायोजनसँगै काठमाडौँ उपत्यकासहितका मुख्य सहरहरूमा पेट्रोल र डिजेलको भाउ बराबर अर्थात् प्रतिलिटर २०० रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ वृद्धि गरेको हो ।
यसअघि तेस्रो वर्गअन्तर्गतका क्षेत्रहरू काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १९७ र डिजेलको १९५ रुपैयाँ रहेकोमा अब दुवैको मूल्य समान २०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै पहिलो र दोस्रो वर्गका क्षेत्रहरूमा पनि सोही अनुपातमा मूल्य वृद्धि गरिएको छ ।
निगमले हवाई इन्धन (आन्तरिकतर्फ) मा भने भारी वृद्धि गरेको छ । प्रतिलिटर २० रुपैयाँले बढेर आन्तरिक हवाई इन्धनको मूल्य अब २४९ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रियतर्फको
हवाई इन्धनमा काठमाडौँका लागि प्रति किलोलिटर १३१ अमेरिकी डलर बढाइएको छ भने पोखरा र भैरहवाको हकमा नाफा नोक्सानरहितमा बिक्री गर्ने निर्णय भएको छ । खाना
पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर २०६० रुपैयाँ यथावत राखिएको छ ।















