पोखरा, असार २१ — नेपाल हाप्किडो संघको आयोजनामा पोखरामा सम्पन्न ११औँ राष्ट्रिय हाप्किडो प्रतियोगिता–२०८३ मा दाङ टिम च्याम्पियन बनेको छ । असार २० र २१ गते आयोजित प्रतियोगितामा देशभरका ५२ जिल्लाका खेलाडी बीच प्रतिस्पर्धा भएको थियो ।
दाङले ८ स्वर्ण, ४ रजत र ३ कांस्य पदक जित्दै टिम च्याम्पियनको उपाधि जित्यो । रूपन्देही ५ स्वर्ण र २ कांस्य पदकसहित दोस्रो तथा कास्की ३ स्वर्ण, ३ रजत र ३ कांस्य पदकसहित तेस्रो भयो ।
व्यक्तिगततर्फ महिलामा कास्कीकी मेग्मा गुरुङ र पुरुषमा दाङका उमङ्ग घर्ती मगर उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट रेफ्री तर्फ महिलामा बन्दना बस्नेत र पुरुषमा विशाल थापा सम्मानित भए ।
प्रतियोगिताको अध्यक्षता नेपाल हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्ती मगरले गरेका थिए । उद्घाटन गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले गरेका थिए भने समापन समारोहमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपाली प्रमुख अतिथि थिए । नेपालीले विजेता खेलाडी तथा टोलीलाई पदक, ट्रफी र प्रमाणपत्र वितरण गर्दै खेल राष्ट्र निर्माणको महत्वपूर्ण आधार भएको बताए । आत्मरक्षा र अनुशासनमा आधारित हाप्किडो खेलको विकासका लागि प्रदेश सरकार सकारात्मक रहेको उनको भनाइ थियो ।
समारोहमा गण्डकी प्रदेश खेलकुद परिषद्का बोर्ड सदस्य खिम पुन मगर, नेपाल हाप्किडो संघकी केन्द्रीय कोषाध्यक्ष विजया कुमारी वाइबा तथा केन्द्रीय सदस्यहरू राजेन्द्र मडै, धनराज गुरुङ र युवराज गुरुङ लगायतको उपस्थिति थियो ।
अध्यक्ष घर्ती मगरले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने खेलाडी, प्रशिक्षक, रेफ्री, निर्णायक, स्वयंसेवक, जिल्ला हाप्किडो संघ, सुरक्षा निकाय, सञ्चारकर्मी, प्रायोजक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरे । उनले हाप्किडोको विस्तार, गुणस्तरीय खेलाडी उत्पादन तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि सक्षम खेलाडी तयार पार्न संघ निरन्तर सक्रिय रहने बताए । कार्यक्रमको सञ्चालन प्रशिक्षक बसन्ती बुढा मगरले गरेकी थिइन् । नेपाल हाप्किडो संघका अनुसार दुईदिने प्रतियोगिताले राष्ट्रियस्तरका प्रतिभावान खेलाडीको पहिचान, प्राविधिक दक्षता अभिवृद्धि तथा नेपाली हाप्किडोको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:













