काठमाडौं, बैशाख ४, नेपालको गल्र्स टिमले आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको छ । पाँच राष्ट्र सहभागी राउन्ड–रोविन लिगमा दोस्रो स्थान हासिल गरेसँगै नेपालले सेप्टेम्बर १५–२० मा सिंगापुरमा हुने एसियाली फाइनल प्रतियोगिताका लागि स्थान पक्का गरेको हो ।
दुई टोली छनोट हुने प्रावधानअनुसार भारत पहिलो हुँदै फाइनलमा पुगेको छ । भारतले सबै चार खेल जित्दा नेपालले भारतसँग मात्र पराजित हुँदै तीन खेल जित्यो। नेपालले श्रीलंका, माल्दिभ्स र पाकिस्तानलाई पराजित गरेको हो । दुई खेल जितेको श्रीलंका तेस्रो, एक खेल जितेको माल्दिभ्स चौथो र जितविहीन पाकिस्तान पाँचौं स्थानमा रहे ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको अन्तिम दिन गल्र्सतर्फ नेपालले माल्दिभ्सलाई २–१ ले हरायो । पहिलो सिंगल्समा आर्या पौडेलले लायरा उषामा अलीलाई ६–०, ६–२ को सोझो सेटमा पराजित गरिन् । दोस्रो सिंगल्समा माल्दिभ्सकी इश्रा इब्राहिमले नेपालकी सारा पन्तलाई ६–३, ६–३ ले हराउँदै खेल बराबरी बनाइन् । निर्णायक डबल्समा नाइरा घले–सारा पन्तको जोडीले लायरा–इश्रालाई ६–३, ६–१ ले पराजित गरेपछि नेपालले सिंगापुर यात्रा सुनिश्चित गर्यो । गल्र्समै भारतले श्रीलंकालाई ३–० ले पराजित गर्यो ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको प्रतियोगिताको ब्वाइजतर्फ भने भारत र पाकिस्तानले बिहीबारै एसियाली फाइनलका लागि स्थान सुरक्षित गरिसकेका थिए । अन्तिम दिनको फाइनलमा भारतले पाकिस्तानलाई ३–० ले पराजित गर्दै उपाधि जित्यो ।
बंगलादेश बाहेक ६ दक्षिण एसियाली राष्ट्र सहभागी ब्वाइज प्रतियोगितामा श्रीलंका तेस्रो, नेपाल चौथो, भुटान पाँचौं र माल्दिभ्स छैटौं भए । तेस्रो स्थानको खेलमा श्रीलंकाले नेपाललाई २–१ ले हरायो ।
विजेतालाई अन्तर्राष्ट्रिय टेनिस महासंघका डेभलप्मेन्ट अफिसर जानेथन स्तब्स र नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुलले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
नेपालको गल्र्स टिमको यो उपलब्धिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको टेनिस भविष्य उज्यालो बनाएको छ।














