फागुन २१, काठमाडाैं । जेनज आन्दोलनपछि सृजना भएको नयाँ अवस्थामा बनेको सरकारले प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ ।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री तथा राजनीतिक दलका शीर्ष नेताहरूले मतदान गरेका छन् । देशभर १६५ सदस्य निर्वाचनका लागि बिहीबार बिहान ७ बजेदेखि मतदान प्रक्रिया जारी छ । प्रधानमन्त्री सुशीला कार्कीले बिहान काठमाडौँ–५ स्थित धापासी फैमालचुली मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेकी छन् ।
यसैगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गरिन् ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर बालकोटस्थित महेन्द्र शान्ति माविबाट दिउँसो मतदान गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवन भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट मतदान गरे ।
मताधिकार प्रयोग गरेर उनी आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व गएका छन् । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा जिल्लाको पालुङटार–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा मतदान गरे ।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले काठमाडौँ–४ मैतीदेवी मन्दिर केन्द्रबाट मतदान गरे । थापा यो पटक साबिक निर्वाचन क्षेत्र परिवर्तन गरी सर्लाही–४ बाट उम्मेदवार बनेका छन् । कांग्रेसले उनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेको छ ।















