९ माघ, भक्तपुर । सानोठिमीस्थित बाल सुधार गृहमा दुई पक्षबीच झडप भएको छ । झडप हाल नियन्त्रणमा आएपनि क्षतिको विवरण भने आइसकेको छैन ।
गएराति बाल सुधार गृहमा राखिएका दुई समूहबीच झडप, आगजनी र तोडफोड भएको थियो । हाल अवस्था समान्या भएपनि स्थिति फेरि भड्किनसक्ने अनुमानमा प्रहरीहरुको बाक्लो तैनाथी बढाइएको छ ।
झडपको जानकारी पाएपछि गएराति नै थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोली सुधारगृह पुगेको थियो । सो टोलीले स्थिति नियन्त्रणमा लिने प्रयास गरे पनि सकेन ।
झडपमा संलग्न बालसुधार गृहका दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेपछि स्थिति झन् तनावपूर्ण बन्यो । स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जनाको टोली परिचालन गरिएको थियो ।
आक्रोशित समूहले मध्यरातमा आगजनी समेत गरेपछि भक्तपुर र काठमाडौंका दमकल प्रयोग गरी आगो निभाइएको थियो ।
सुधारगृहमा झडप, तोडफोड र आगजनीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सानोठिमीस्थित बाल सुधारगृहमा १४५ पुरुष र २४ महिला गरी १६९ राखिएको बताइएको छ ।














