काठमाडौँ / हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा काठमाडौँको अनमोल ब्याङ्क्वेट, शंखमुलमा साधारणसभा सम्पन्न भएको हो।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीको सेयरधनी दर्ता पुस २१ गते बन्द गरिएको थियो । पुस २० गतेसम्म कायम रहेका सेयरधनीहरूले साधारणसभामा सहभागिता जनाएका थिए ।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण पारित गरेको छ।
साथै, सोही आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ८ प्रतिशतका दरले हुन आउने रु २० करोड १२ हजार ५९२ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि पारित गरिएको छ।
त्यसैगरी, साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि कम्पनीको बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धी प्रस्तावसमेत स्वीकृत गरेको छ ।
साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले प्रविधि तथा दक्ष जनशक्तिमा गरिएको निरन्तर लगानीले कम्पनीलाई दीर्घकालीन रूपमा सुदृढ र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे ।
उनले स्रोत साधनको प्रभावकारी व्यवस्थापन तथा सरोकारवालाहरूको भरोसा र सहकार्यका माध्यमबाट कम्पनीलाई थप सक्षम बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।
त्यसैगरी, स्वागत मन्तव्यका क्रममा प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न चुनौतीका बाबजुद दीर्घकालीन स्थायित्व र सञ्चालन सुधारमा केन्द्रित रणनीतिका कारण कम्पनीले उल्लेखनीय प्रगति हासिल गरेको बताइन् ।
उनले कम्पनीको वित्तीय सुदृढता, प्रभावकारी जोखिम व्यवस्थापन र ग्राहकप्रतिको प्रतिबद्धताले आगामी दिनमा पनि दिगो मूल्य सिर्जना गर्ने विश्वास व्यक्त गरिन् । विषम् आर्थिक परिस्थितिमा समेत ८ प्रतिशत नगद लाभांश वितरण गरिएकोमा अधिकांश सेयरधनीहरूले सन्तोष व्यक्त गरेका थिइन्।
साधारणसभामा सेयरधनीहरूका तर्फबाट लबराज जोशी, उत्तमदत्त पाण्डे, सुदिप श्रेष्ठ, चन्द्रनारायण श्रेष्ठलगायतले आ-आफ्नो धारणा राख्दै कम्पनीको व्यवस्थापनप्रति विश्वास व्यक्त गरेका थिए ।














