पुस २७, काठमाडाैं । नेपाली कांग्रेसमा संस्थापन पक्षको चर्को असहमति र विरोधका बाबजुद विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा आजदेखि विशेष महाधिवेशन सुरु हुँदैछ। काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १:०० बजे एक भव्य समारोहका बिच महाधिवेशनको उद्घाटन गर्ने तय भएको छ।
उद्घाटन सत्रलाई शक्ति प्रदर्शनको रूपमा देखाउन आयोजकले बिहान ११:०० बजेदेखि काठमाडौँ उपत्यकाका विभिन्न ६ वटा मुख्य स्थानबाट जुलुस निकाल्ने तयारी गरेका छन्। सुन्धाराबाट सुरु हुने पहिलो रुटमा चितवन, अर्घाखाँची र सुदूरपश्चिमका जिल्लाका साथै काठमाडौँका क्षेत्र नम्बर ८, ९ र १० का कार्यकर्ताहरू सहभागी हुनेछन्। यो जुलुस वीर अस्पताल, रत्नपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ।
त्यस्तै, नुवाकोट, रसुवा र धादिङका कार्यकर्ताहरू रत्नपार्कमा भेला भएर भृकुटीमण्डप प्रवेश गर्नेछन्। तेस्रो रुट अन्तर्गत पद्मकन्या क्याम्पसबाट बाँके, बर्दिया र मधेश प्रदेशका जिल्लाका साथै काठमाडौँका क्षेत्र नम्बर ५, ६ र ७ का कार्यकर्ताहरू पुतलीसडक हुँदै अगाडि बढ्नेछन्।
भक्तपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक र काठमाडौँका क्षेत्र नम्बर २ र ३ का सहभागीहरू शंकरदेव क्याम्पसमा भेला भएर कार्यक्रम स्थल पुग्नेछन्। कमलपोखरीबाट सुरु हुने पाँचौँ रुटमा काठमाडौँ क्षेत्र नम्बर १ र ४ का कार्यकर्ताहरू डिल्लीबजार र पुतलीसडक हुँदै जुलुसमा होमिनेछन्।
छैटौँ रुट अन्तर्गत ललितपुर र मकवानपुरका कार्यकर्ताहरू कुपण्डोलबाट थापाथली, त्रिपुरेश्वर र रत्नपार्क हुँदै भृकुटीमण्डप पुग्ने तय भएको छ।
पार्टीको संस्थापन पक्षले यस महाधिवेशनलाई वैधानिकता नदिने बताइरहँदा विशेष महाधिवेशन पक्षधरहरूले भने पार्टी सुधारका लागि यो कदम अनिवार्य भएको दाबी गरेका छन्।















