काठमाडौं, मंसिर २९– श्राम १२ औं राष्ट्रिय एमबिटी डाउनहिल तथा २०औं क्रस कन्ट्री एमटिबी प्रतियोगिता आगामी पुसको पहिलो साता काठमाडौंमा हुने भएको छ ।
नेपाल साइक्लिङ संघको आयोजनामा काठमाडौंमा नेपाल नेसनल माउन्टेन बाइक च्याम्पियनसिप हुन लागेको हो । संघले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता बारे जानकारी दियो । सो अवसरमा गोकर्ण नगरपालिकाका मेयर दीपककुमार रिसाल, राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति स्मारक बिस्तारित बोर्डका अध्यक्ष सुदर्शन सिग्देल र साइक्लिङ संघका अध्यक्ष सुदीप पौडेल र संघका वरिष्ठ उपाध्यक्ष तथा नेपाली चुलोका प्रबन्ध निर्देशक संघर्ष बिष्टलगायत उपस्थित थिए ।
कार्यक्रममा मेयर रिसालले धेरै युवाले रूचाएको खेललाई नगरपालिकाले सहयोग गरेको र नगरले सम्पूर्ण खेलकुद विकासमा काम गरिरहेको बताए । साथै मेयर रिसालले ट्रयाक बनाउन नगरले सहयोग गरेको उल्लेख गरे ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ मा रहेको सहिद स्मारक पार्कमा आगामी पुष ४ र ५ गते प्रतियोगिता हुने आयोजकले जनाएको छ । यो कोर्षमा १३औं दक्षिण एसियाली खेलकुद पनि भएको थियो । डाउनहिल र क्रस कन्ट्री गरी दुई विधामा प्रतिस्पर्धा हुने रेस डाइरेक्टर देवेन्द्र बस्नेतले जानकारी दिए । पुरूष इलिट (१९ देखि ३० वर्ष) र महिला इलिट, जुनियर (१७ र १८ वर्ष उमेरसमूह) , मास्टर्स (३० वर्षमाथि) र युथ (१४ देखि १६ वर्ष उमेरसमूह) गरी पाँच इभेन्टमा गरी कुल ३० पदकका लागि प्रतिस्पर्धा गरिने बस्नेले उल्लेख गरेका छन् ।
डाउनहिल र क्रस कन्ट्रीमा समान ५० जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । दुवै विधामा मास्टर्स र जुनियरमा महिला तथा पुरूषमा गरी चार विधामा प्रतिस्पर्धा हुनेछन् । यस प्रतियोगिताका लागि कोर्ष बनाउन गोकर्ण नगरपालिकाले सहयोग गरेको संघले जनाएको छ । बाइकिङ एन्ड हाइकिङ गर्ने हिसाबले पहिलेदेखि ट्रयाक तयार पारिएको संघका अध्यक्ष सुदीप पौडेलले बताए । साथै उनले हरेक खेलाडीको बिमा पनि गरिएको उल्लेख गरे ।
यस प्रतियोगिताका लागि स्रामका सन्चालक तथा साइक्लिङका प्रमुख प्रशिक्षक प्रयास तामाङले एक लाख रूपैयाँ सहयोग गरेको संघले जनाएको छ ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:













