काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण गर्ने तालिका सार्वजनिक भएको छ।
परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको भदौ १४ देखि १८ सम्मको तालिका सार्वजनिक गरेको हो। प्रधानमन्त्री ओली भदौ १४ गते चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा चीनको भ्रमणमा जाँदै छन्।
उनी साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन २०२५ मा सहभागी हुन र जापानी आक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोध युद्ध तथा विश्व फासीवादविरोधी युद्धको ८० औं वार्षिकोत्सवको स्मरणमा आयोजित कार्यक्रममा सहभागी हुन चीन जान लागेका हुन्। प्रधानमन्त्री ओलीसँगै पत्नी राधिका शाक्य पनि भ्रमणमा सहभागी हुनेछिन्।
प्रधानमन्त्री ओलीले भदौ १६ गते तिआनजिनमा राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। सोही दिन उनले एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने र अन्य विश्व नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ।
यस्तै, प्रधानमन्त्री ओलीले भदौ १७ गते बेइजिङमा चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने छन्। भदौ १८ गते भने उनी जापानी आक्रमणविरुद्धको चिनियाँ जनताको विजय दिवस तथा विश्व फासीवादविरोधी युद्ध स्मरण कार्यक्रममा सहभागी हुनेछन्।
प्रधानमन्त्रीको भ्रमण टोलीमा शिक्षामन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सांसद पूर्णबहादुर खड्का, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद छबिलाल विश्वकर्मा लगायत उच्च सरकारी अधिकारीहरू सहभागी हुनेछन्।
प्रधानमन्त्री ओली र उनको टोली भदौ १८ गते नै काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।