काठमाडौं । नेपाल भारत विकास मञ्चद्वारा राजधानीमा आयोजित ‘दक्षिण एसियामा आतंकवादको अवस्था र दीर्घकालीन समाधान’ विषयक विचारगोष्ठीमा सहभागी वक्ताहरूले आतंकवादलाई मानव सभ्यताको साझा चुनौती र मानवताविरुद्धको अपराधका रूपमा परिभाषित गर्दै यसको समाधानका लागि क्षेत्रीय सहकार्य, राजनीतिक प्रतिबद्धता र नेतृत्वकारी पहल अपरिहार्य रहेको निष्कर्ष निकालेका छन् ।
कार्यक्रममा अधिकांश वक्ताहरूले आतंकवादको जड गरिबी, बेरोजगारी, राजनीतिक असमानता र अन्यायपूर्ण शक्ति बाँडफाँटमा रहेको उल्लेख गर्दै, केवल सैन्य शक्ति प्रयोगबाट यसको अन्त्य सम्भव नहुने धारणा राखे ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री उपेन्द्र यादवले आतंकवाद कुनै विचारधारा वा वाद नभई अमानवीय र मानवताविरोधी गतिविधि भएको स्पष्ट पारे । उनले धर्म, जातीयता, राष्ट्रियताको नाममा जन्मिएका विभाजनकारी आन्दोलनले पनि आतंकवादको स्वरूप पाएको इतिहास स्मरण गरे । यादवका अनुसार पाकिस्तान र अफगानिस्तान सबैभन्दा बढी प्रभावित मुलुक भए पनि भूटान, भारत र बंगलादेशमा पनि यसका गतिविधि देखिन्छन् ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आतंकवादलाई उच्चारण गर्ने नपर्ने कुराको रूपमा लिँदै, मानव सभ्यताको विकासका लागि यसको अन्त्य अपरिहार्य भएको बताए । उनले राज्यले जनविरोधी गतिविधि गर्दा पनि आतंक मच्चिने उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलनका क्रममा राज्यको गोलीबाट मृत्यु भएका उदाहरण दिए । नेपाल(भारत खुला सीमा आतंकवादी गतिविधिमा प्रयोग हुन नदिने विषयमा उनले राज्य सचेत रहनुपर्नेमा जोड दिए।
नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री मिनेन्द्र रिजालले देशभित्रको राजनीतिक द्वन्द्वलाई आतंकवादसँग जोड्न नहुने बताए । माओवादीको सशस्त्र आन्दोलनलाई राजनीतिक विद्रोहका रूपमा बुझिएको उल्लेख गर्दै उनले पञ्चायतकालमा आफूहरूलाई पनि अराजक तत्व भनिएको प्रसंग स्मरण गरे ।
रिजालले सार्क सम्मेलन आतंकवादी घटनाका कारण स्थगित हुनुपरेको उदाहरण दिँदै, नेपालको भूमि भारत वा अन्य कुनै मुलुकविरुद्धको आतङ्ककारी गतिविधिमा प्रयोग हुनु नहुनेमा जोड दिए ।
पूर्वसचिव तथा कूटनीतिक मामिला विज्ञ मधुरमण आचार्यले दक्षिण एसियालाई आतंकवादको उद्गमस्थलको रूपमा चित्रित गर्दै यहाँका आन्तरिक राजनीतिक, सामाजिक र भौगोलिक कारणहरूले आतंकवाद जन्माएको बताए । पाकिस्तानले घुमाउरो तरिकाले आतंकवादलाई समर्थन गरेको जिकिर गर्दै उनले तालिवानको उदाहरण दिए, जहाँ अमेरिकी सैन्य दबाबले समस्या समाधान गर्न सकेन । सार्क सम्मेलन आतकंवादका कारण रोकिएको बताउँदै उनले दक्षिण एसिया अतंकवादको उदगमस्थल रहेको उल्लेख गरे ।
आतंकवादीहरूले कुनै कुरामाथि ध्यानाकर्ण गराउन हमला गर्छ र पहलगममा त्यही भएको उल्लेख गर्दै उनले भारतले आतंकवादको विषयलाई अन्तराष्ट्रिय रुपमा उठाएको र टोली पठाएर त्यसको बारे छलफ गरेको बताए ।
आतंकवादको कारण युद्ध नहोस भनेर नेपालले भुमिका खेल्नु पर्ने उल्लेख गर्दै उनले आतंकवादबाट बढी प्रभावित भएका कारण यसको समाधानका लागि भारतले आगुवाइ गर्नुपर्ने बताए ।