काठमाडौँ । आगामी भदौ ३ गतेबाट हुने नाडा अटो शोको उद्घाटन प्रधानमन्त्रीकै हातबाट गराउने तयारीमा आयोजकहरू जुटेका छन् ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले आज आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी नाडा अटो शो उद्घाटनको निम्तो दिएको हो ।
नाडाले यही आउँदो भाद्र ३ गते देखि ८ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा १७औँ नाडा अटो शो २०२५ आयोजना गर्दैछ । सो को उद्घाटन प्रधानमन्त्रीले गर्ने नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले अर्थपथलाई बताए ।
प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष चौधरीले नाडा स्थापनाको ५० औँ वार्षिक उत्सव मनाउने क्रममा रहेको र नाडाले १७ औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी गराए ।
पहिलो पटक नेपालमा प्रदर्शन हुँदै गरेको युनिट्र रोबोट्स् र डिपल इभटोल युएभी जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्र विन्दु हुने जानकारी दिए ।
सो भेटघाटमा नाडा प्रतिनिधि मण्डलको आग्रहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गरेको नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले बताए ।
भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह कोषाध्यक्ष पङ्कज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल समेतको उपस्थिति रहेको थियो ।
नाडा अटो शोमा १२५ भन्दा बढी प्रदर्शक तथा ३० भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ ।
अहिले राजधानीको भृकुटीमण्डपमा नाइमा अटो सो चलिरहेको छ । नाडाबाट अलग भएर गठन भएको नाइमाले गरेको अटो सो उपप्रधान तथा अर्थमन्त्रीले बुधवार गरेका थिए । नाइमाभन्दा फरक अटो शो गराउने तयारीका साथ जुटेको अध्यक्ष करण चौधरीले बताउँदै आएका छन् ।