काठमाडाैं । बागमती नदीको बगुवा खोलामा बेलिब्रिज राखेपछि कान्ति राजमार्ग आज बिहानदेखि सञ्चालनमा आएको छ ।
मकवानपुर र ललितपुरलाई जोड्ने स्थानमा गएराति बेलिब्रिज जडान कार्य सम्पन्न भएकोपछि पुलबाट सवारी साधन चल्न थालेका हुन् । कान्ति राजमार्ग सडक आयोजनाका प्रवक्ता ई. उपेन्द्र महरानका अनुसार आज देखी पुल सञ्चालनमा आउने बताए ।
गत वर्ष असोजमा आएको बाढीले पुलको मकवानपुरतर्फको भाग भत्काएपछि डाइभर्सनमार्फत् सवारी साधन सन्चालन हुँदै आएका थिए । तर डाइभर्सन गरिएको स्थानमा राखिएका ह्युमपाइप सानो बाढीले पनि बगाइदिने गरेकाले यात्रा अप्ठेरो हुने गरेको थियो ।
हालै बेलिब्रिज जडान गर्नका लागि चार दिनसम्म डाइभर्सनबाट पनि यात्रा गर्न रोक लगाइएको थियो । बेलिब्रिज जडान कार्य सम्पन्न भएसंग काठमाडाैंबाट हेटाैडा जाेड्ने सडक वर्षायाम केही सहज हुने अनुमान रहेकाे छ।
पुल निर्माण सम्पन्न भएसंगै उक्त बेलिब्रिजको भारबहन क्षमता ३० टन मात्र रहने जनाइएकाे छ।
मालवाहक सवारी (ट्रक/ट्रेलर) को हकमा एक पटकमा एकतर्फी गुडाउनुका साथै अधिकतम कुल वजन ३० टन र अधिकतम प्रतिएक्सल वजन १० टनमात्र हुने गरी सवारी साधन सञ्चालनको प्रबन्ध मिलाइएको जनाइएकाे छ।
’