नेपालको ग्लोबल आईएमई बैंक र अस्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच स्विच एसिया ग्रान्ट प्रोग्रामअन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा रहेको एक परियोजनामा सहकार्य गर्ने समझदारी भएको छ।
बैंकका अनुसार बिल्डिङ इनर्जी एफिसिएन्सी इन नेपाल (बीन) परियोजनाअन्तर्गत दिगो आवास भवन निर्माणका लागि ऊर्जा कुशल प्रविधि तथा अभ्यासहरु प्रवर्द्धनको लागि समझदारी भएको हो।
उक्त समझदारीमा बैंकका ग्रिन एन्ड सस्टेनेबल बैंकिङ्ग प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफ इन्ज्ब्रक, अस्ट्रियाको प्रतिनिधि तथा बीन प्रोजेक्ट प्रमुख डा. ड्यानियल नेयरले हस्ताक्षर गरेका छन्।
ग्लोबल आइमई बैंकले दिगो आवास प्रवद्र्धन गर्न ग्रिन होम लोन विशेष कर्जा योजना लागू गर्दै आएको छ। बैंकका अनुसार यस समझदारीले प्राविधिक क्षमताको अभिवृद्धि गर्न र दिगो तथा ऊर्जा कुशल भवनहरूको प्रवर्धन गर्न सहयोग पुर्याउनेछ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ।