काठमाडौं । गौशाला धर्मशालामा मारवाडी सेवा समितिको दावी नपुग्ने पशुपति क्षेत्र विकास कोषले स्पष्ट पारेको छ ।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदको असोज २२ गते बसेको बैठकले मारवाडी सेवा समिति र कोषबीचको करारनामा रद्द भएको भन्दै गौशाला धर्मशाला सञ्चालन गर्न काठमाडौं महानगरपालिकालाई जिम्मा दिएको समेत जनाएको छ ।
कोषले मंगलबार पत्रकार सम्मेलन मार्फत मारवाडी सेवा समिति नेपाल र पशुपति क्षेत्र विकास कोषबीच भएको करारनामा रद्द गरेपछि उक्त निर्णय बदर गर्न मारवाडी समितिले जिल्ला अदालत काठमाडौंमा दिएको निवेदनमा काठमाडौं जिल्ला अदालतले असोज १६ गते उक्त दावी नपुग्ने ठहर भई फैसला गरेपछि गौशाला धर्मशालाको व्यवस्थापन गर्ने अधिकार कोषमा निहीत भएको जनाएको छ ।
उक्त धर्मशाला व्यवस्थापन गर्न सरकारी निकार्यमार्फत समन्वय गर्न अदालतले गरेको निर्णय बमोजिम धर्मशाला व्यवस्थापन गर्न गौशाला धर्मशाला संचालन व्यवस्थापनको नीति बनाइ गौशाला धर्मशालाको संचालन व्यवस्थापनको मोडेल सहितको कार्यविधि पशुपति विकास कोषको सञ्चालन परिषदबाट निर्णय भए बमोजिम हुनेगरी धर्मशालाको व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग समन्वय गरिएको जनाएको छ ।
यसैबीच अदालतको निर्णय पछिपनि मारवाडी सेवा समितिले भने विभिन्न वहानामा आफ्नो हक लाग्ने भन्दै गौशाला धर्मशालाको भोगचलमा दावी गर्दै आएको छ ।
काठमाडौं महानगरपालिकाले उक्त धर्मशालामा सञ्चालन गर्ने जिम्मा आफुले पाएको भन्दै मारवाडी सेवा समितिलाई धर्मशाला छोड्न भन्दै आएको छ ।