काठमाडौं । रास्वपाले निवर्तमान महामन्त्री मुुकुल ढकाललाई पार्टीको भ्रम सिर्जना गर्ने काम गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन पनि भनिएको छ । चित्तबुझ्दो स्पष्टीकरण नदिए पार्टीबाट निष्कासन गर्ने तयारीस्वरुप पत्र पठाइएको छ ।
“पार्टीविरुद्ध नियोजित रुपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निस्कासन नगर्ने ? तपाईंको साधारण सदस्यता किन खारेज नगर्नुपर्ने हो ? आफ्ना आधार प्रमाण तथा भनाइसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेश गर्नुहुन सुचित गरिन्छ,” स्पष्टीकरण पत्रमा भनिएको छ ।
विभिन्न सञ्चारमाध्यममा आएका धारणाका आधारमा स्पष्टीकरण सोधिएको छ । रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले काटेको पत्रमा मुकुललाई कोट गर्दै लेखिएको समाचारका लिंकहरुसमेत पठाइएको छ ।
मुकुललाई पार्टीले महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिबाट मुक्त गर्दा पुनरावेदन गर्ने समय दिएकोमा पुनरावेदन नगरी संचारमाध्यममा पार्टीहित विरुद्ध बोलेको आरोप लगाइएको छ ।