फागुन २७, काठमाडौँ । साताको पहिलो दिनको कारोबार सेयर बजार २२ अंकमाथिको वृद्धि भएको छ । अघिल्लो हप्तादेखि नै उकालो लाग्न थालेको नेप्से सूचक आइतबार २२.१० अंकले बढ्दै २ हजार ५२.६५ अंकमा उक्लिएको हो ।
आइतबार ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.२६ अंकले बढ्दै ३६४.५३ अंकमा उक्लिएको छ । २२ अंकमाथिले नेप्से बढेको यसदिन २ अर्ब ९२ करोड २७ लाख रुपैयाँ माथिको ७० लाख ४३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।
हाइड्रोपावर समूहको उपसूचक बाहेक अरु १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक आज ४.२१ प्रतिशतले बढेको छ भने अरु समूहको उपसूचक २ प्रतिशत कमले बढेका छन् । हाइड्रोपावर समूहको उपसूचक भने आज ०.१२ प्रतिशतले घट्न पुगेको छ ।
वीयन नेपाल लघुवित्त वित्तीय संस्था र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने चिरखायु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ७.०६ प्रतिशतले घटेको छ ।