फागुन २० , काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको पदावधि आज सकिएको छ ।
रिक्त २० मध्ये १९ जना सदस्य गत माघ ११ मा सम्पन्न निर्वाचनबाट चुनिएका छन् भने एक जना मन्त्रिपरिषदको सफारिसमा राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।
आज कार्यकाल सकिएकाहरुको विदाइ र नवनिर्वाचित सदस्यहरुको स्वागत हुँदै छ । विदाइ र स्वागतको अनौपचारिक कार्यक्रम बेलुका साढे ६ बजे सिंहदरबार नजिकैको बुटिक होटेल बसेरामा आयोजना गरिएको छ ।
नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण भने सोमबार बिहान साढे १० बजे संसद भवनको ल्होत्से हलमा हुनेछ । उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छिन् ।