काठमाडौं, माघ ८ । होटल तथा पर्यटन समूहको कम्पनी चन्द्रागिरि हिल्सको लकइन पिरियड सकिएसँगै संस्थापक, स्थानीय र कर्मचारीको सेयर कारोबार फुकुवा भएको छ।
सोमबारदेखि सो कम्पनीको सम्पूर्ण सेयर कारोबारका लागि फुकुवा भएको नेप्सेले जनाएको छ । कम्पनीको संस्थापकको १ करोड ३५ लाख कित्ता, स्थानीयबासीको ३ लाख ६ हजार ८१९ कित्ता र कर्मचारीको ६१ हजार ३६४ कित्ता सेयरमा लकइन अवधि सकिएको हो ।
थप कुल १ करोड ३८ लाख ६८ हजार १८३ कित्ता सेयर कारोबारका लागि फुकुवा भएको हो । लकइन अवधि सकिएसँगै सोमबारदेखि नै यी सेयर साधारणसरह उहीं मूल्यमा, उहीं कोड नामबाट कारोबार गर्न सकिनेछ । कम्पनीको कुल १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर सूचीकृत छ ।
होटल तथा पर्यटन समूहका कम्पनीको पनि प्राथमिक सेयर सर्वसाधारणलाई बाँडफाँट भएको ३ वर्षपछि संस्थापक, स्थानीयबासी तथा कर्मचारीको सेयरमा लकइन अवधि सकिने व्यवस्था छ ।