काठमाडौं । आज विजयदशमी मान्यजनबाट टीका र जमरा लगाइँदै छ । असत्यमाथि सत्य र दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दशैंको मुख्य दिन हो ।
टीका लगाउन बस्ने व्यक्ति पश्चिम र लगाइदिने पूर्व फर्किनु पर्ने वास्तुविद एवम् धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्री बताउँछन् । ‘चन्द्रमालाई दाहिने र सम्मुख पारेर टीका लगाउनुपर्ने भएकाले टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्किंदा शुभ हुन्छ,’ उनले भने । आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने उनको भनाइ छ ।
आज दुर्गादेवीको प्रसादको रुपमा टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेमा वर्षभर शान्ति हुने विश्वास छ ।