काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको एफटीटीएच (FTTH) अर्थात् फाइबर टु द होममा आधारित एनटी फाइबर (NT Fiber) सेवाप्रति सेवाग्राहीको आकर्षण र माग निरन्तर बढिरहेको छ । उच्च गतिको इन्टरनेट तथा टेलिफोन सेवा एउटै माध्यमबाट प्राप्त गर्न सकिने यस सेवाप्रति सेवाग्राहीले देखाउनुभएको बढ्दो विश्वास र सकारात्मक प्रतिक्रियाका लागि टेलिकमले सम्पूर्ण सेवाग्राहीप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
कम्पनीका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा प्राप्त मागअनुसार सेवा जडान गर्दै जाने र गुणस्तर सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । सेवाग्राहीको बढ्दो मागअनुसार एनटी फाइबर जडान कार्यलाई थप प्रभावकारी बनाउन कम्पनीले आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अघि बढाइरहेको जनाएको छ । कतिपय कार्यालयहरूमा मागको चाप बढेको तथ्यलाई हृदयंगम गर्दै आवश्यक व्यवस्थापकीय सुदृढीकरण कार्य प्राथमिकताका साथ भइरहेको टेलिकमले स्पष्ट पारेको छ ।
सेवाग्राहीको बढ्दो मागलाई सम्बोधन गर्दै आपूर्ति श्रृंखला अवरुद्ध हुन नदिन कम्पनी अहोरात्र प्रयासरत रहेको विज्ञप्तिमा उल्लेख छ । साथै, नेपाल सरकारको स्वामित्वमा रहेको कम्पनी भएकाले आपूर्ति श्रृंखला व्यवस्थापनमा विधिवत प्रक्रिया अवलम्बन गरी निरन्तर रूपमा सेवा प्रवाहका लागि आवश्यक कार्य भइरहेको जनाइएको छ ।
एनटी फाइबर सेवाप्रति सेवाग्राहीले देखाउनुभएको विश्वास र चासोले कम्पनीलाई सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि थप प्रेरित गरेको उल्लेख गर्दै टेलिकमले ‘सेवाग्राहीको विश्वास नै हाम्रो ऊर्जा’ भएको बताएको छ । गुणस्तरीय दूरसञ्चार सेवा विस्तार गर्ने यात्रामा दिनुभएको साथ, सहयोग र धैर्यताका लागि नेपाल टेलिकमले पुनः हार्दिक धन्यवाद व्यक्त गरेको छ ।















