साउन १७ । काठमाडौँमा लुटपाट गरेका व्यक्तिलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको हो।
गएराति १०:२५ बजे उनलाई पक्राउ गर्न खोज्दा साथमा रहेको खुकुरीले प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेपछि तीन राउन्ड गोली चलाउनुपरेको प्रहरीको भनाइ छ।
घाइते अवस्थामा नियन्त्रणमा लिइएका तामाङको साथबाट घटनामा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको छ।
उनको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।














