साउन १७, काठमाडौं । देशभरी मनसुन सक्रिय भएको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका अधिकांश स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ।
मौसमविद तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. विनोद पोखरेलका अनुसार हाल मधेशसहित देशभरी नै वर्षा जारी छ। लामो समयदेखि पानी नपरेको मधेश क्षेत्रमा समेत अबका केही दिन राम्रो वर्षा हुने सम्भावना रहेको उनले बताएका छन्।
गएराति पर्साको ठोरी, चितवन लगायतका स्थानमा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज काठमाडौं उपत्यकासहित देशका विभिन्न पहाडी भू-भाग तथा मधेशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।
राजमार्गहरू अवरुद्ध
यसैबीच शुक्रबारदेखिको निरन्तर वर्षाका कारण देशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्। पहिरोका कारण मुख्य सडक खण्डहरू ठप्प हुँदा यातायात सेवा प्रभावित भएको छ।















