मङ्सिर ११, काठमाडौं । सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना र सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला नेपाल पत्रकार महासंघले अन्तर्राष्ट्रिय पत्रकार महासंघसंगकाे सहकार्यमा “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्चालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेको छ ।
तालिममा महासंघ केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य गरी पच्चिसजना सहभागी थिए ।
सञ्चारमाध्यमको विश्वसनीयता कायम राख्न र पत्रकारलाई सामाजिक सञ्जाल प्रयोगमा जिम्मेवार बताउन तालिमको आयोजना गरिएको महासंघका अध्यक्ष निर्मला शर्माले बताउनुभयो ।
प्रशिक्षणपछि प्रशिक्षकहरुले महासंघको देशैभरी रहेका आफ्ना शाखामार्फत पत्रकारहरुलाई जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग गर्ने बारेमा अभिमुखीकरण प्रदान गरिने महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो ।
समाचारको विश्वसनीयताका लागि पत्रकारहरुले जिम्मेवारपूर्वक पत्रकार आचारसंहिता प्रयोग गर्नु अति जरुरी रहेको प्रशिक्षक उज्ज्वल आचार्यले उल्लेख गर्नुभयो । उहाँले पत्रकार आचारसंहितालाई अक्षरस पालना गरे सञ्चारमाध्यमप्रतिको विश्वास बढ्ने र पत्रकारको पेशागत सुरक्षा बलियो हुने धारणा राख्नुभयो ।














